STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बससेवा निःशुल्क

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र १९, मंगलबार

जनतालाई पहिलो पटक गाउँघरमै सिंहदरबार पुगेको अनुभूति दिने उद्देश्यले चाँगुनारायण नगरपालिकाले एकै ठाउँबाट सम्पूर्ण सरकारी एवं स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ । आज नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले सम्पूर्ण सरकारी सेवादेखि स्वास्थ्य उपचारलगायत विभिन्न सेवा निःशुल्क पाउने गरी एकीकृत बृहत् घुम्ती शिविर सञ्चालन गरिने बताउनुभयो । यही चैत २० गते गृहमन्त्री रामबहादुर थापाले उद्घाटन गरेर शुरु हुने शिविरमा जिल्लाका सम्पूर्ण सरकारी कार्यालयबाट १० हजारभन्दा बढी जनतालाई दिइने सेवा एकै पटक एउटै थलोबाट प्रवाह गरिने उहाँले बताउनुभयो । चाँगुनारायण नगरपालिका–१ परोपकार केन्द्रसँगै निर्माणाधीन वीर अस्पताल परिसरमा सञ्चालन हुने सो शिविरमा वीर अस्पताल, काठमाडौँ मेडिकल कलेज, नेपाल मेडिकल कलेज, शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्र, भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, नेपाली सेनाका विशेषज्ञ सेवा सहितको बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिनेछ । चौबिसजना विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीले शिविरमा स्त्री रोग, बालरोग, हाडजोर्नी, नाक, कान, घाँटी, दन्तरोग, आँखारोग, छातिरोग, प्राथमिक उपचार गर्नुका साथै निःशुल्क औषधिसमेत वितरण गरिने नगर प्रमुख मिश्रले जानकारी दिनुभयो । त्यसैगरी नागरिकता, राहदानी, नाबालक परिचयपत्र, आदिवासी जनजाति प्रमाणपत्र, अपाङ्गता परिचयपत्र, ज्येष्ठ नागरिक परिचयपत्रलगायत सेवा प्रवाह गरिने नगरपालिकाका प्रशासकीय अधिकृत चिरञ्जीवी तिम्सेनाले जानकारी दिनुभयो । शिविरमा डिभिजन वन कार्यालय भक्तपुरबाट बिरुवा वितरण, जनचेतनामूलक कार्यक्रम, डिभिजन खानेपानी कार्यालयबाट खानेपानीको शुद्धता परीक्षण, जिल्ला निर्वाचन कार्यालयबाट फोटोसहितको मतदाता नामावली सङ्कलन, घरेलु तथा साना उद्योग कार्यालयबाट उद्योग दर्ता, नेपाल टेलिकमद्वारा ज्येष्ठ नागरिक, भूकम्पपीडित, स्वास्थ्य स्वयंसेविका, अपाङ्गता, एकल महिला, दलित, विद्यार्थी, भूकम्पपीडितलाई निःशुल्क सिमकार्ड वितरण, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट भूकम्पपीडितको गुनासो व्यवस्थापनलगायत सेवा प्रदान गरिने भएको छ । पशुसेवातर्फ नाम्ले जुकाको औषधि वितरण, गोबर परीक्षण, पशु स्वास्थ्य शिविर एवं परीक्षण, पशु बीमा एवं पशु व्यवसाय सम्बन्धी जानकारी, कृषितर्फ माटो परीक्षण, खाद्य परीक्षण र बीउबिजन वितरण गरिने तिम्सेनाले बताउनुभयो । बृहत् सिकाइ शिविरतर्फ विपद् जोखिम न्यूनीकरण, सहकारी सेवा सम्बन्धि जानकारी, नगरपालिकाले प्रदान गर्ने सेवा, विभिन्न निजी तथा सरकारी निकायबाट प्रदान गर्ने सिकाइ सेवा, सहकारी एवं स्थानीय उत्पादन सामग्रीको प्रदर्शनी तथा सबै सरकारी सेवा प्रदायक निकायको सार्वजनिक सुनुवाइ गरिने भएको छ । शिविरमा नगरपालिका भित्रका नौ वटै वडाका बासिन्दालाई एकै पटक एकै थलोबाट सेवा प्रवाह गरिने भएको छ । शिविरमा नेपाली सेनाको वीर दल गण सूर्यविनायक र विद्यालयका उत्कृष्ट नृत्य समेतको बृहत् सांस्कृतिक कार्यक्रम गरिने भएको छ । नगरपालिकाले नगरभित्र रहेको नौ वटै वडामा रहेका अशक्त, अपाङ्गता भएका तथा ज्येष्ठ नागरिकलाई शिविरस्थलसम्म ल्याउन र लैजानका लागि गाउँ गाउँमा आठ निःशुल्क एम्बुलेन्स र पाँचदेखि नौ सम्मका वडाका बासिन्दाका लागि वडा वडामा आठ निःशुल्क बससेवा सञ्चालन गर्ने व्यवस्था समेत गरेको छ ।
Categorized in राष्ट्रिय