STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बन्ध्याकरण गर्नै मान्दैनन् पुरुषहरु

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ १६, सोमबार

बागलुङको तमानखोला गाउँपालिका–५ खुंखानीकी २९ वर्षीया नरदेवी सिर्पाली स्थानीय स्वास्थ्य चौकीमा भेटिनुभयो । सन्तानको रहर पुगेपछि एक वर्ष पहिले हातमा लगाएको इम्प्लान्ट निकाल्न उहाँ खुंखानी स्वास्थ्य चौकी पुग्नुभएको हो । एक छोरा र दुई छोरीकी आमा उहाँले परिवार नियोजनको अस्थायी साधनहरु प्रयोग गर्दै आउनुभएको छ । एक वर्ष पहिलेसम्म डिपो सुई लगाउने गर्नुभएकी उहाँले इम्प्लान्टको प्रयोग गरेको एक वर्ष मात्रै भयो । स्वास्थ्यकर्मीको सल्लाहअनुसार उहाँले इम्प्लान्ट लगाउनुभएको हो । नरदेवीले दुई सन्तान मात्रै जन्माउने भन्दाभन्दै तीन सन्तान भए । नरदेवीले तेस्रो सन्तान जन्मेपछि श्रीमान्लाई स्थायी बन्ध्याकरणका लागि अनुरोध गर्नुभयो तर उनले मानेनन् । “बच्चा धेरै जन्माउँदा हुर्काउन साह्रै गाह्रो हुन्छ, पाउनै मुस्किल छ, उनलाई के थाहा” नरदेवीले भन्नुभयो ‘खुन ९रगत० को आहालमा घरिघरि बस्न सक्दिन भनेर बन्द गर्न भनेँ तर मानेनन्, अनि त आफैँ यहाँ आएँ ।” अस्थायी साधनको प्रयोग गर्दा कतिपय महिलाहरुमा महीनावारी नियमित नहुने, महीनावारी हुँदा धेरै रगत बग्ने, टाउको दुख्ने जस्ता समस्या देखिने गरेको उनीहरु बताउँछन् । नरदेवी जस्तै खुंखानी स्वास्थ्य चौकीको सेवा क्षेत्रमा रहेका झण्डै डेढ सय महिलाले परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्छन् । पुरुषले बन्ध्याकरण गर्न नमानेकै कारण परिवार नियोजनका अस्थायी साधनको भर गर्दै आएको नरदेवी बताउनुहुन्छ । खुंखानी स्वास्थ्य चौकीको तथ्याङ्कअनुसार अहिले पनि २२ महिलाले पिल्स, ४१ ले डिपो र ५९ ले इम्प्लान्ट नियमित प्रयोग गर्दै आएका छन् । स्वास्थ्य चौकी प्रमुख दीपक पौडेलका अनुसार कण्डम प्रयोग गर्नेको भने स्वास्थ्य चौकीले तथ्याङ्क राखेको छैन । त्यो बाहेक निजी स्वास्थ्य क्लिनिक र अन्य स्वास्थ्य संस्थामा पुगेर सेवा लिनेहरु पनि छन् । खुंखानीका महिलाहरुमा दुई सन्तान मात्रै जन्माउनु पर्छ भन्ने चेतना छ । दुईभन्दा धेरै सन्तान नपाउनका लागि उनीहरु आफैँ अनेक उपाय लगाउँछन् । घाँस दाउरा गर्दा होस् वा मेलापात गर्दा एक अर्कामा जानकारी गराएर महिलाहरुकै बीचमा परिवार नियोजनका विषयमा जानकारी आदानप्रदान हुने गरेको स्थानीय आशकुमारी सिर्पालीले बताउनुभयो । सन्तानको रहर पुगे पनि पुरुषहरुले अस्थायी साधन प्रयोग गर्न झण्झट मान्ने गरेका कारण महिलाहरुले नै अस्थायी साधनको प्रयोग गर्ने गरेको नरदेवीले बताउनुभयो । “कमाउन विदेश जानुपर्छ, साह्रो काम परो भने कठिन हुन्छ भनेर लोग्नेमान्छेहरु बन्द गर्नै मान्दैनन्”, उहाँले भन्नुभयो, “घर बसे भने केही होला भन्ने डरले स्वास्थ्य चौकी दगुर्न परेको छ ।” स्थायी बन्ध्याकरण गर्दा शरीर कमजोर हुने र गह्रौँ काम गर्न नसकिने भ्रमका कारण पुरुषहरुले बन्ध्याकरण गर्न नमान्ने गरेको उहाँले सुनाउनुभयो । बेलाबेलामा स्वास्थ्य चौकीले आयोजना गर्ने स्थायी बन्ध्याकरण शिविरमा पनि महिलाहरुकै उल्लेख्य उपस्थिति रहने गरेको छ । “शिविर भयो भने पनि मिनील्याप गर्नेको सङ्ख्या धेरै हुन्छ”, खुंखानी स्वास्थ्य चौकीका अनमी माया घर्तीले भन्नुभयो, “पुरुषहरु आउनै मान्नुहुन्न ।” महिलाहरुले प्रयोग गर्ने अस्थाई साधनहरु केही समय समयमा परिवर्तन गरिरहनु पर्ने हुन्छ । तीन महीने डिपो सुई प्रत्येक तीन महीनामा लगाउनुपर्ने भएकाले झुक्किएर कहिलेकाही गर्भ रहने समस्या रहेको नरदेवीले बताउनुभयो । स्वास्थ्य चौकीले बेला बेलामा चेतनामूलक कार्यक्रम सञ्चालन गरेर बन्ध्याकरणका विषयमा जानकारी गराउने गरेको छ । “हामीले स्थायी बन्ध्याकरण गर्दा कुनै असर पर्दैन भनेर जानकारी गराइरहेका छौँ”, स्वास्थ्यचौकी प्रमुख पौडेलले भन्नुभयोे, “यहाँ त महिलाहरुले नै श्रीमान् कमजोर हुन्छ, काम गर्न सक्दैन भनेर आफैँ बन्ध्याकरण गर्न आउने गरेको पनि पाएका छौँ ।” परिवारको आकार सानो बनाउन स्थानीय सबैमा चेतना भएको भएपनि बन्ध्याकरणका विषयमा केही गलत धारणा रहेको पौडेलले औँल्याउनुभयो ।
Categorized in राष्ट्रिय