STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

फेरि थुप्रन थाल्यो राजधानीमा फोहर

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण ११, शनिबार

वाग्मती लगायत उपत्यकाका नदी र चक्रपथ सफाइ अभियान जारी रहे पनि विभिन्न स्थानमा अझै फोहर उठ्न सकेको छैन । वाग्मती सफाइ महाअभियानको ३२४ औँ हप्तामा बुद्धनगर पुल क्षेत्र मुनिको नदी किनारमा सफाइ गरी नौ मेट्रिक टन फोहर उठाए पनि तीन मेट्रिक टन फोहर मात्र व्यवस्थापन हुन सकेको अभियानकर्मी माला खरेलले बताउनुभयो । फोहर उठ्न नसकेपछि फेरि उपत्यकाका चोक चोकमा फोहर थुप्री प्रदुषण फैलन थालेको छ । सफाइमा २० संस्थाका ६०० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो । तीन वटै सुरक्षा निकायको समेत सक्रियता रहेको थियो । सो अवसरमा समितिका अध्यक्ष नरेन्द्रराज बस्नेतले सफाइ अभियानलाई अझ रचनात्मक रुपमा अघि बढाइनुपर्नेमा जोड दिनुभएको थियो । रुद्रमती सफाइ अभियानको २७८ औँ हप्तामा रुद्रपनेकु झोलुङ्गे पुलबाट सेतोपुल हुँदै फर्किएर रातोपुलसम्मको दायाँबायाँ किनारमा सफाइ गरियो । सफाइका क्रममा नदी किनारमा जम्मा भएको दुई क्विन्टल फोहर व्यवस्थापन गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले बताउनुृभयो । सफाइमा काठमाडौँ महानगरपालिका वडा नं। ३० का अध्यक्ष दलबहादुर कार्की लगायत स्थानीयवासीको सहभागिता थियो । वाग्मती सुन्दरीघाट सफाइको १३३ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी चित्र सुनुवारले जानकारी दिनुभयो । सफाइमा १०० जनाभन्दा बढी अभियानकर्मीको सहभागिता थियो । आलोकनगर सफाइको १२१ औँ हप्तामा काठमाडौँ महानगरपालिका वडा नं। ३१ स्थित आलोकनगर मन्दिरबाट बानेश्वरका विभिन्न क्षेत्रमा सफाइ गरी बुद्धनगरस्थित यूएन पार्क क्षेत्रको वाग्मती सफाइ महाअभियान पुगेको जनाइएको छ । चक्रपथ सफाइ अभियान २०७१ को आयोजनामा गङ्गाहलबाट बालाजुचोकसम्म १०२ औँ हप्ताको सफाइ गरियो । यस क्षेत्रको चक्रपथमा धेरै फोहर जम्मा भएको भेटिएको सफाइ संयोजक ताराबहादुर कुँवरले बताउनुभयो । करीब २०० जना अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट पाँच टन फोहर व्यवस्थापन गरियो । सफाइमा सांसद रामवीर मानन्धर पनि सहभागि हुनुभएको थियो । मनोहरा सफाइको १२३ हप्तामा बालकुमारी पुलमुनिको नदी किनारमा सफाइ गरियो । स्थानीय संस्था सहित टोलवासीको सक्रियतामा भएको सफाइबाट एक ट्रक फोहर व्यवस्थापन गरिएको अभियानकर्मी चन्द्र दङ्गालले जानकारी दिनुभयो । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानपछि उपत्यका लगायत देशभर सफाइ जागरण फैलिएको छ । हाल देशभरका १०५ भन्दा बढी स्थानमा सफाइ भइरहेको अभियानकर्मीले जनाएका छन् । 
Categorized in राष्ट्रिय