STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

फुटपाथ व्यवसायीलाई काठमाडौं महानगर प्रहरीको निर्मम कुटपिट

Janjati Khabar – Janjati Khabar | २०८० फाल्गुण १७, बिहिबार

काठमाडौं - बुधबार समसाँझ काठमाडौंको सुन्धारा क्षेत्रमा निस्किएका फुटपाथ व्यवसायीलाई काठमाडौं महानगर प्रहरीले निर्मम कुटपिट गरेको छ ।

महिलामाथि निर्मम तरिकाले लाठी हानेको भिडियो पनि सार्वजनिक भएको छ । फुटपाथमा निस्किएका व्यवसायीलाई उनीहरुले निर्मम तरिकाले लाठी हानेका थिए । प्रहरी बलसँगको झडपमा परेर कैयौं व्यवसायी घाइते भएका छन् ।

घाइतेहरु अस्पतालमा भर्ना भएका छन् भने केही डिस्चार्ज भएका छन् । उनीहरुलाई उपचारका लागि प्रहरीले साँझ नै ट्रमा सेन्टरमा पुर्‍याएको थियो । बिहीबार केहीलाई डिस्चार्ज गरिसकिएको छ भने घाइतेमध्ये केहीको मुखमा गम्भीर चोट लागेको पाइएको छ । व्यवसायी नानीमैया बस्नेतको टाउको र मुखमा चोट लागेको छ ।

लामो समयदेखि साँझबाट सुन्धारा नेपाल टेलिकमको भवनको अगाडिपट्टिको फुटपाथमा विभिन्न सामान राखेर व्यवसाय गर्दै आएका उनीहरुलाई महानगर प्रहरी बलको टोलीले हटाउने प्रयास गरेपछि झडपको अवस्था सृजना भएको हो ।

झडपमा परेर १० जना महानगर प्रहरीसमेत घाइते भएका छन् । घाइते नगर प्रहरीहरु पनि सबै डिस्चार्ज भएका छन् । नगर प्रहरीतर्फ रन्जना मगरातीको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।

घटनाबारे यसो भन्छन् महानगर प्रहरी प्रमुख राजु पाण्डे ?

हाम्रो प्रहरी टोली बुधारबार साँझ साढे सात बजे टेलिकम अगाडिको फुटपाथमा पसल नराख्नु होला भनेर माइकिङ गरिरहेको थियो । हामीले व्यवसायीहरु कसैको सामान नियन्त्रण गरेका पनि थिएनौँ ।

तर, व्यवसायीहरुले महिलाहरुलाई अगाडि सारेर पछाडिबाट ढुंगा र इँटा हान्न थाले । हाम्रो एकजना एसपीको मुखमै लाग्यो । महानगर प्रहरीमाथि पनि लछारपछार भयो । हामीले त्यसपछि प्रतिरक्षा गरेका हौँ । हामीले त्यो क्षेत्रमा राति फुटपाथ पसल नराख्नू भनेर महिनौंदेखि माइकिङ गर्दै आएका थियौँ । 

सुन्धारा क्षेत्रमा सडक व्यापार गर्दै आएका अर्जुन भट्टराईले एकाएक आतंक पार्नेगरी आफूहरुमाथि कुटपिट गरिएको बताए । “एकाएक आएर हामीमाथि लाठी प्रहार गरे,” उनले भने, “हामीलाई गाडीभित्र राखेपछि पनि हानियो, सहनुको विकल्प थिएन ।”

उनका अनुसार ‘सैनिक शासन तिमीहरुलाई थाहा रहेनछ’ भन्दै गाडीभित्र पनि लाठी र लात्तीले प्रहार गरेका थिए । भट्टराईका अनुसार दुईजना गम्भीर घाइते भएका छन् । 

Categorized in उपत्यका