STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रहरीका सात भवन निर्माणाधीन

Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक १९, मंगलबार

जिल्लामा एकैसाथ सात ठाउँमा प्रहरी भवन निर्माण भइरहेका छन् । जिल्ला प्रहरी कार्यालयको आवासगृह, इलाका प्रहरी कार्यालय ऐसेलुखर्क, मात्तिमबिर्ता, प्रहरी चौकी देवीस्थान, रतन्छा, च्यास्मिटार र बुइपाको कार्यालय भवन निर्माणाधीन अवस्थामा छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं प्रवक्ता आमोदकुमार खेरवारका अनुसार जिल्ला प्रहरी कार्यालयको आवासगृह ४८ प्रतिशत, इलाका प्रहरी कार्यालय ऐसेलुखर्क ६५ प्रतिशत, मात्तिमबिर्ता ७५ प्रतिशत, देवीस्थान ९५ प्रतिशत र रतन्छा, च्यास्मिटार र बुइपाको २०÷२० प्रतिशत निर्माण सम्पन्न भएको छ । आवासगृह नेपाल सरकारको नियमित बजेट रु तीन करोड ९० लाख सात हजार ६७२ लगानीमा निर्माण शुरु गरिएको हो । इलाका प्रहरी कार्यालय ऐसेलुखर्क भूकम्प प्राधिकरण कोषको रु तीन करोड १५ लाख ९१ हजार १५१, मात्तिमबिर्ता साकेला गाउँपालिकाको रु पन्ध्र लाख, प्रहरी चौकी देवीस्थान भूकम्प प्राधिकरण कोषको रु एक करोड ७९ लाख २८ हजार ३३१, रतन्छा प्रदेश सरकारको रु एक करोड ७९ लाख ३६ हजार ३२४, च्यास्मिटार प्रदेश सरकारको रु एक करोड ६४ लाख ४८ हजार ९८३ र बुइपा प्रदेश सरकारकै रु एक करोड ७९ लाख २२ हजार ७९९ लागतमा निर्माण भइरहेका छन् । चार अस्थायीसहित ३५ प्रहरी बिट रहेको जिल्लामा इलाका प्रहरी कार्यालय बाक्सिला, प्रहरी चौकी वाप्लुखा र हुक्नाजोरका लागि आगामी आर्थिक वर्ष नयाँ भवन निर्माणको काम शुरु हुने जनाइएको छ । तीनवटै स्थानको प्रहरी भवन प्रदेश सरकारको लगानीमा निर्माण गरिने प्रहरी प्रवक्ता खेरवारले जानकारी दिनुभयो । दुई नगरपालिका र आठ गाउँपालिका गरी १० स्थानीय तह रहेको जिल्लामा तालखर्क, याम्खा, भण्डारेघाट र हरमटारमा अस्थायी प्रहरी चौकी छन् ।
Categorized in राष्ट्रिय