STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

प्रधामन्त्रीबाट हटाएर देखाउन ओलीको चुनौती

Janjati Khabar – Janjati Khabar | २०७७ फाल्गुण २९, शनिबार

काठमाडाैं - प्रधानमन्त्री केपी ओलीले आफूलाई प्रधामन्त्रीबाट हटाएर देखाउन विपक्षीलाई चुनौती दिएका छन् ।

शनिबार काठमाडौंमा आयोजित बृहत् राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मोर्चा कसेर प्रधामन्त्रीबाट हटाउन चुनौती दिएका हुन् । कसैले हटाए छ भने पनि एमाले २० महिनापछि दुई तिहाइ बहुमतका साथ सिंहदरबार प्रवेश गर्ने उनको भनाइ छ ।

‘लगभग दुईतिहाई लिएर सिंहदरबार पस्छौँ । १९ महिनापछि । अहिले हटाउन सक्छ कसैले भने हटाएर देखाओस् । हटाओस् । जालझेल गरोस् । षड्यन्त्र गरोस् । मोर्चा कसोस् । मोर्चा कसेर पनि हटाउन सक्छ भने हटाओस् । २० महिनापछि फेरि यो पार्टी, सूर्य चिह्न धारी पार्टी, नेकपा (एमाले) नामको पार्टी दुई तिहाइ बहुमतका साथ सिंहदरबारको मूल गेटबाट फेरि पस्छ' उनले भने ।

उनले विपक्षीमा बस्न कुनै गाह्रो नभएको पनि बताए । उनले विपक्षमा बसेर देश बनाउने तयारी गर्ने पनि बताए । 'हामीलाई प्रतिपक्षमा एकछिन रहन कुनै गाह्रो छैन । प्रतिपक्षमा पनि बस्न तयार । हामी सरकारमा भए देश बनाउँछौँ, प्रतिपक्षमा भए देश बनाउने तयारी गछौँ’ उनले भने ।उनले माधव नेपाल–झलनाथ पक्षलाई कतैबाट नहटाएको भन्दै पार्टीको काम गर्दै गर्नलाई केहीलाई जिम्मेवारी दिइएको बताए । माधव–झलनाथ पक्षधर बैठकमा आए कसरी अगाडि बढ्ने भन्नेबारे सल्लाह गरिने उनको भनाइ छ ।‘उहाँहरू कता जानुभयो, कता जान हिड्नुभएको थियो, बाटामा तगारो आयो अरे । तगारो आएपछि कसैले फर्क भन्दियो अरे । फर्किँदै हुनुहुन्छ अरे । ठीक छ फर्किनुस् । आउनुस् । केही गरिदिया छैन उहाँहरूलाई । उहाँहरूले जस्तो अध्यक्षबाट निकालेँ भन्या छैन । पार्टी सदस्यबाट निकालेँ भन्या छैन । कतैबाट निकाल्या छैन । तर हामीले काम गर्दै गर्नका लागि, काम गर्दै गर्नुपरेन, पार्टी चलाउँदै गर्नु परेन, उहाँहरू आएपछि सल्लाहसँग गरुँला,' उनले भने 'अहिले पार्टी चलाउँदै गर्नका लागि हामीले केही साथीहरूलाई केही कामको जिम्मा दिएका छौँ । काम त चलाउँदै गर्नुपर्‍यो नि हामीले । त्यो जिम्मा दिँदाखेरी फेरि दलिनमा टाउको ठोकिने गरी उफ्रिराख्नु भएको छ । किन उफ्रिराख्नु बैठकमा आए भै'गयो नि । ७ गते बैठक बोलाइएको छ । आउनुस् । छलफल गरौँला । कसरी अगाडि बढ्ने बढौला ।’

प्रधानमन्त्री ओलीले ७ चैत्रको केन्द्रीय कमिटी बैठकमा उपस्थित हुन माधव–झलनाथ पक्षलाई सार्वजनिक रूपमा आह्वान गरेका छन् । बैठकमा अनुपस्थित भए विधान बमोजिम कारबाही हुने उनले बताए ।

‘हिजो हामी केन्द्रीय कमिटी बैठक बस्यौँ उहाँहरू आउनुभएन । पहिलेदेखि आइराख्नुभएको छैन केन्द्रीय कमिटी बैठकमा । अस्ति मैले सुनेँ पेरिसडाँडाबाट रुवाबासी गर्दै अदालतको फैसलापछि बिदावारी भएर हिड्नुभएको थियो रे । अर्याल होटलसम्म आइपुग्नुभा'को छ । त्यहाँ एक दुई रात बास बस्नुभा'को भन्ने सुनियो । बैठकमा आइपुग्नु भा'को छैन । प्रसस्त समय रहोस् भनेर ७ गतेलाई बैठक बोलाएको छु । चैत्र ७ गते बैठक बोलाएको छु । यत्रोविघ्न टेलिभिजनले खिचेको छ, लाइभ दिइराख्या होला सुनिन भन्न पाइने छैन । २०७७ साल चैत्र ७ गते केन्द्रीय कमिटीको बैठक बालुवाटारमा बोलाएको छु । केन्द्रीय कमिटीका सदस्यहरु आउनुहोला । अनुपस्थित रहदै जानुभो भने विधानको व्यवस्था अनुसार हुँदै जानेछ । त्यसकारण म सबैले सुन्नेगरी भन्न चाहान्छु ७ गतेको बैठकमा आउनुहोला’ उनले भने ।

प्रधानमन्त्री ओलीले एकता कायम राख्न र मिलेर अगाडि बढ्न नेकपा (माओवादी केन्द्र) का नेता कार्यकर्तालाई पनि आग्रह गरेका छन् । एमालेलाई पनि सच्चिएर आउन आग्रह गर्दै केपी ओलीलाई ठेगान लगाउँछु भनेर आए बाटैमा ठेस लाग्ने पनि उहाँको भनाइ छ ।

‘म हिजो माओवादी केन्द्रमा रहेका नेता, कार्यकर्ता साथीहरुलाई आग्रह गर्न चाहान्छु । हामीले एकता गरेको थियौँ । एकतामा कायम रहौँ । अगाडि बढौँ । म स्वागत गर्छु साथीहरूलाई । फेरि पनि वेलकम गर्छु । आउनुस् । सँगै मिलेर अघि बढौँ । सच्चिएर आउनका लागि म बाटो बिराएकाहरूलाई पनि भन्न चाहन्छु आउनुस् सच्चिएर । यसो वक्तव्यबाजी सुन्छु कतै कतै । हामी फर्किन्छौँ, केपी ओलीलाई ठेगान लाउन फर्किन्छौँ । खुट्टी देख्दै पत्याइयो । काम गर्न आउनुस् । पार्टी चलाउन आउनुस् । देश बनाउन आउनुस् । सच्चिएर आउनुस् । स्वागत छ । केपी ओलीलाई ठेगान लाउन आउनुभो भने तपाईंको खुट्टामा बाटैमा ठेस लाग्छन् ।म सबै साथीहरूलाई आग्रह छोडेर, भ्रम तोडेर पार्टीमा आउन, एकजुट भएर अगाडि बढ्न तमाम कार्यकर्ताहरुलाई आग्रह गर्न चाहन्छु’ उनले भने ।

Categorized in राजनीति