प्रधानमन्त्री केपी शर्मा ओलीको फेरि मिर्गौला प्रत्यारोपण गरिने
Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण १८, आइतबार
प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो मिर्गौला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना हुनुहुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालयको आज बसेको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरमा बुधबार प्रत्यारोपणलगायत आफ्नो स्वास्थ्योपचार योजनाबारे बताउनुभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि पत्रकारलाई जानकारी दिनुभयो ।
राष्ट्रियसभा सदस्यमा हुने मनोनयनबारे सोधिएको प्रश्नमा प्रवक्ता श्रेष्ठले भन्नुभयो, “यस विषयमा पहिले नै निर्णय भइसकेकाले फेरि बोलिरहनुपरेन ।”
वर्षौंदेखि रोगसँग संघर्ष गर्दै
‘मेनिन्जाइटिस’ भएर सन २०१३ मा प्रम ओली शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गर्न पुगेका थिए । त्यहाँ उपचार गरेको केही दिनपछि डा। दिव्या सिंहले ग्राण्डी ‘रिफर’ गरेकी थिइन् । ग्राण्डीमा पनि उपचार नभएपछि उनी ओलीसँगै बैंकक गएकी थिइन् ।
बैंककमा महिना दिनभन्दा लामो उपचारपछि ओलीको अवस्था खतराबाट मुक्त बनेको थियो । त्यतिबेला कडाखालको ‘मेनिन्जाइटिस’ सँगै निरन्तर लामो समयसम्म टाउको दुख्ने समस्या थियो । स्वास्थ्यमा हेलचेक्र्याइँ र चिकित्सकको सल्लाहबिना औषधि खाएकाले सिकिस्त भएका थिए । कडा मेनिन्जाइटिसले गर्दा ढाडबाट पानी झिक्नुपर्ने अवस्था थियो ।
Categorized in राष्ट्रिय