STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

प्रधानमन्त्रीले भेटे बालकुमारी घटनाका पीडित परिवारसँग, मृतकका परिवारलाई दश लाख राहत

Janjati Khabar – Janjati Khabar | २०८० पौष १५, आइतबार

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग ललितपुरको बालकुमारीमा शुक्रबार भएको घटनाका पीडित परिवारजनले भेट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको भेटमा प्रधानमन्त्री प्रचण्डले घटनाको यथार्थ पत्ता लगाउन सरकारले छानबिनको प्रक्रिया अघि बढाइसकेको र दोषी देखिएकालाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे । 

प्रधानमन्त्रीले उक्त घटनालाई सरकारले गम्भीर रुपमा लिएको र प्रारम्भिक चरणमा दोषी देखिएकालाई निलम्बन गरिसकिएको पीडित पक्षलाई जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनले मृतकका परिवारलाई सरकारका तर्फबाट राहतको व्यवस्था गरिएको, घाइतेको उपचारको प्रबन्ध मिलाइएको बताएका थिए । प्रधानमन्त्री प्रचण्डले घटनाका सम्बन्धमा दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेका थिए ।

पीडित परिवारजनसँग प्रधानमन्त्री प्रचण्डले शुक्रबार कार्यक्रमको सिलसिलामा दोलखामा रहेको र घटना थाहा पाउने बित्तिकै आफूले सम्बन्धित अधिकारीसँग जानकारी लिएको बताएका थिए । उनले घटनाको अनुसन्धान प्रक्रिया अघि बढिसकेको जानकारी दिँदै पीडितले न्याय पाउने विश्वास दिलाए । 'छानबिनबाट सत्यतथ्य जे आउँछ, जो दोषी देखिन्छन् तिनलाई कारबाही हुन्छ, आगामी दिनमा यस्ता घटना हुँदैनन्,' प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने । 

शनिबार नै बसेको मन्त्रिपरिषद् बैठकले सरकारका तर्फबाट मृतकका परिवारलाई प्रतिपरिवार दश लाख राहत उपलब्ध गराउने निर्णय गरेको छ । 

Categorized in राजनीति