STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

प्रधानमन्त्रीले दिए मन्त्रिमण्डल पुनर्गठनको संकेत

Janjati Khabar – Janjati Khabar | २०८० पौष ६, शुक्रबार

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल पुनर्गठन हुने संकेत गरेका छन् । सरकारको एक वर्ष पुग्नै लागेको बेला दाहालले पार्टी पदाधिकारी बैठकमा मन्त्रालयको काम अपेक्षा गरेअनुसार नभएको उल्लेख गर्दै मन्त्रिपरिषद् हेरफेर हुन सक्ने बताएका हुन् ।

माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीले सरकारको कार्यशैली परिवर्तन गरी आक्रामक ढंगले काम गर्ने बताएको जानकारी दिए । ‘मन्त्रालयले जनताको सेवा प्रवाहलाई गति दिन नसके नयाँ कदम चाल्नुपर्ने हुन्छ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उनले भने, ‘यही मन्त्रिपरिषद्लाई सक्रिय बनाउने र हुन नसके मन्त्रिपरिषद् हेरफेर गर्न सक्ने प्रधानमन्त्रीको संकेत थियो ।’

बिहीबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले मन्त्रालयले आफ्नो लक्ष्य पूरा नगरे नयाँ ढंगले सोच्ने बताएका थिए । ‘सबै मन्त्रालयको बिफ्रिङ लिएर समीक्षा गरिरहेको छु । अब नयाँ ढंगले जाने, विकास निर्माण र जनताको सेवा अगाडि बढाउने योजना बनाउने हो,’ उनको भनाइ थियो, ‘अब टार्गेट दिइन्छ । त्योअनुसार भएन भने सोच्नुपर्छ ।’

प्रधानमन्त्रीले सुशासन, सामाजिक न्याय, विकास निर्माणमा आफू सफल भएको दाबी गरे । दाहालले एनसेल प्रकरणमा पर्याप्त तथ्य तथ्यांकसहित आफूले संसदीय समितिमा कुरा राखिसकेको र विधि, विधान र कानुनभन्दा माथि कोही पनि नरहेको बताए । ‘यसलाई अनावश्यक कोट्याउन आवश्यक छैन । विधि, विधान र कानुनभन्दा बाहिर केही गर्न दिइँदैन । यसका बारेमा अनावश्यक कचिङ्गल र भ्रम सिर्जना गर्ने षड्यन्त्र असफल हुन्छ,’ उनले भने ।

यही साताको पहिलो मन्त्रिपरिषद् बैठकमा दाहालले मन्त्रीहरुसामु दुई विकल्प भएको बताएका थिए । ‘हामीसँग दुई विकल्प छन् । कि मन्त्रालयको कामलाई तीव्र गतिमा अघि बढाउने, कि स्वेच्छिक रूपमा बिदा लिने,’ दाहालको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने । मन्त्रालयको कामले लक्ष्य नभेटेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका थिए ।

संयुक्त राष्ट्र संघीय जलवायु सम्मेलन (कोप १८) बाट मंसिर १७ मा स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भने उनले तत्काल मन्त्रिपरिषद् हेरफेर नहुने बताएका थिए ।

प्रधानमन्त्री दाहाल अर्थ, भूमिसुधार, कृषि, पर्यटन र ऊर्जा मन्त्रालयको कामप्रति असन्तुष्ट भएको बालुवाटार स्रोतले जनाएको छ । माघ दोस्रो साता १९ सिटका लागि हुने राष्ट्रिय सभा निर्वाचनपछि उनले गठबन्धनका शीर्ष नेतासँग छलफल गरी मन्त्रिपरिषद् हेरफेर गर्ने मनस्थिति बनाएका निकट नेताको भनाइ छ । गत पुस १० मा एमालेको समर्थनमा प्रधानमन्त्री भएका दाहाल सरकारको कार्यकाल एक वर्ष पुग्दै छ ।

राष्ट्रपति निर्वाचनमा एमालेसँग कुरा नमिलेपछि दाहालले दुई महिनापछि कांग्रेसको समर्थन पाएका थिए भने एमाले सरकारबाट बाहिरिएको थियो ।

Categorized in राजनीति