STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

प्रधानमन्त्रीलाई विश्वासको मत दिन एमाले, रास्वपा, जसपा र नाउपाले साथ दिने

Janjati Khabar – Janjati Khabar | २०८० फाल्गुण २९, मंगलबार

काठमाडौं - बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन्। यसको लागि प्रधानमन्त्री पुष्पकमल दाहाललाई एमालेलगायत, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले साथ दिने भएका छन् ।

नेकपा एमालेका अध्यक्ष तथा एमाले संसदीय दलका नेता केपी शर्माले ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन आफ्ना पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् । 

मंगलबार बसेको संसदीय दलको बैठकमा उनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन निर्देशन दिएका हुन् । बुधबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै छन् । साथै उनले सरकारविरुद्ध पनि नबोल्न निर्देशन दिएका छन् ।  ओलीले भने, ‘म साथीहरूलाई भन्छु, सरकारको आलोचनामा बोल्ने होइन । सरकारको कुनै कुराको आलोचना गर्नुपर्‍यो भने आन्तरिक रुपमा गर्दा हुन्छ । नबुझिकन कहिले कहिले देख्दा एउटा चिज देखिन्छ, अर्कै हुन्छ,।’

रास्वपाको ह्वीप

यसैगरी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ। 

सत्ता साझेदार रास्वपाको आज बिहान भएको संसदीय दलको बैठकले वर्तमान सरकारलाई विश्वासको मत दिने निर्णयसहित प्रधानमन्त्रीले संसदमा विश्वासको मत माग्दा विश्वास मत प्रदान गर्न ह्वीप जारी गरेको छ।

प्रधानमन्त्री प्रचण्डले भोलि फागुन ३० गतेको संसदमा विश्वासको मत लिने भएकाले बैठकमा अनिवार्य उपस्थित हुन र सरकारलाई विश्वासको मत दिन ह्वीप जारी गरिएको रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए। 

वर्तमान सत्ता गठबन्धनमा सहभागी रास्वपा उपप्रधासहित चार मन्त्रालय लिएर सरकारमा सहभागी छ।

नागरिक उन्मुक्तिका सांसदलाई ‘ह्वीप’

यसैगरी, नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ।

मंगलबार बसेको नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको बैठकले विश्वासको मतको पक्षमा मतदान गर्न  ‘ह्वीप’ समेत जारी गरेको छ। 

विश्वासको मतको पक्षमा मतदान गर्ने निर्णय भएको सो पार्टीका सांसद अरुण चौधरीले बताए। 

जसपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ। 

मंगलबार सिंहदरबारमा बसेको जसपा संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो। 

जसपाको संसदीय दलले आफ्ना  सांसदहरुलाई सरकारको पक्षमा मतदान गर्न ह्वीप समेत जारी गरेको छ।

जसपा प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा उपप्रधान तथा २ वटा मन्त्रीसहित सहभागी छ। जसपाबाट अध्यक्ष उपेन्द्र यादव उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री छन् भने  नवलकिसोर साह सुडी वन तथा वातावरण मन्त्री छन्। 

Categorized in राजनीति