प्रतिभा देखाउन अर्थ सङ्कट
Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १२, बिहिबार
आफूभित्र रहेको अद्भुत क्षमता १०१ राष्ट्रमा चिनाउने लक्ष्य साँधेर विश्वकीर्तिमानी लेखन यात्रामा निस्कनु भएका बैतडीका मनोज चन्द यतिबेला अर्थ अभावले थला पर्नुभएको छ । बैतडीको सिगास गाउँपालिकाका ३० वर्षीय मनोज शरीरका सात वटा अङ्गको सहारामा कलम चलाउनुहुन्छ ।
“हात, खुट्टा, कुहिना र मुखले एकसाथ ६ वटा कलम चलाउँछु तीन÷तीन कलम त्यो पनि दुई हात”, २५ मुलुकको यात्रा सकेर हालै धनगढी सुदूरपश्चिम पुग्नुभएका चन्दले भन्नुभयो, “सुदूरपश्चिमका पर्यटकीय स्थल चिनाउने मेरो अर्को उद्देश्य पनि हो ।”
वैदेशिक यात्रामा गैरआवासीय नेपाली र दूतावासहरुले कार्यक्रम गर्न र बसोबासको प्रबन्ध मिलाउँदै आएको भए पनि आफूलाई आगमनका लागि निकै आर्थिक समस्या रहेको चन्दको दुखेसो छ ।
दुई महिनाअघि कतारमा लेखन यात्रा कार्यक्रम पस्केर घर फर्किएका चन्द विगत एक महिनादेखि सुदूरपश्चिम प्रदेश सरकारसित गुहार मागिरहनुभएको छ ।
“मैले प्रतिभा देखाउन र ‘गिनिजबुक अफ दी वल्र्ड रेकर्ड’ मा नाम लेखाउने चाहना पूरा गर्न सुदूरपश्चिम प्रदेश सरकारसित गुहार मागेको छु”, मङ्गलबार भीमदत्तनगर आइपुग्नु भएका चन्दले भन्नुभयो, “प्रदेश सरकारबाट आश्वासन पाए पनि सहयोग हात लागेको छैन ।”
उहाँले आफूले प्रदेश सरकारमा प्रस्तुत गरेको प्रस्ताव सामाजिक विकास मन्त्रालय हँुदै मुख्यमन्त्री कार्यालय पुगेको बताउनुभयो ।
“प्रदेशको मन्त्रिपरिषद्ले सहयोग गर्ने निर्णय गरिदिए हुन्थ्यो”, उहाँले भन्नुभयो, “रकम अभावले यात्रामै बिराम लाग्ने अवस्था आएको छ ।”
विसं २०६८ देखि नेपाल यात्रामा निस्कनु भएका चन्दले आफ्नो प्रस्तुति मुलुकका ७२ जिल्लासम्म पुगेर राखिसक्नुभएको छ ।
“बाल्यकालमा साथीहरुले लेफ्टे ९बाँया हाते० भनेर जिस्काउँथे”, विगत सम्झिँदै उहाँले भन्नुभयो, “अहिले त शरीरका धेरै भागले मज्जाले कलम चलाउन सक्ने भएँ ।” बुबा मानबहादुर चन्द र आमा जानकी चन्दको कोखबाट २०४४ सालमा जन्मिएका मनोज सानैदेखि प्रायः काम बायाँ हातले गर्नुहुन्थ्यो । “विद्यालय भर्ना भएदेखि देब्रे हातले नै लेख्न थालेँ”, चन्दले भन्नुभयो, “मलाई नौ कक्षा पुग्दासम्म साथीहरुले जिस्काउँथे ।”
दाहिने हातले लेख्न थालेको तीन महिनामै चन्द सफल हुनुभयो । “शुरुआतमा त निकै गाह्रो भयो, कोसिस गर्दै जाँदा सफल भएँ ।” उहाँले भन्नुभयो ।
दुवै हातले समानरूपमा लेख्न थालेपछि आफूले शरीरका अरु अङ्गले पनि लेख्न सकिन्छ की भनेर प्रयास गरेको चन्दको भनाइ छ । “सुरुमा रहरले हातको कुमको सहारामा कलम समातेर लेख्न कोसिस गरेपछि त्यसमा पनि सफल भएँ”, उहाँले भन्नुभयो, “छ महीनापछि त दुवै खुट्टाले पनि लेख्नसक्ने भएँ ।”
उहाँले गिनिजबुकमा नाम लेखाउन प्रक्रिया अघि बढिसकेको जानकारी दिनुभयो । “गिनिजबुकका लागि अन्तिम प्रस्तुतिका लागि बेलायत जाने योजनामा छु”, उहाँले भन्नुभयो, “आफूभित्रको प्रतिभा देखाउन पनि आर्थिक कारणले ‘ब्रेक’ लाग्ने स्थिति बन्दैछ ।”
फरक क्षमता भएका चन्द अध्ययनमा पनि अब्बल हुनुहुन्छ । उहाँले समाजशास्त्र र राजनीतिशास्त्र गरी दुई विषयबाट स्नातकोत्तरसमेत गरिसक्नुभएको छ ।
“फरक क्षमता भएका व्यक्तिहरु शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने चाहना हो”, चन्दले भन्नुभयो, “यात्रामा हिँड्दै जाँदा चाहनाहरु पूरा गर्न धेरै कठिनाइ आउँदा रहेछन् ।”
चन्द अहिले दायाँबायाँ दुवै हातले सँगै उल्टासुल्टा अक्षर पनि सहजै लेख्नुहुन्छ । मेरो लेखन कला देखेर धेरै देशका नागरिक छक्क परे”, उहाँले भन्नुभयो, “धेरैले मेरो क्षमतालाई सकरात्मकरूपमा लिएको पाएको छु ।”
Categorized in राष्ट्रिय


