पोखरामा सात दिने अभिनय प्रशिक्षण कार्यशाला सम्पन्न
Janjati Khabar – विजयरत्न असंबरे | २०८३ बैशाख २४, बिहिबार
गुरुङ फिल्म एशोसिएसन नेपाल (जिफान) को आयोजना तथा चलचित्र विकास बोर्डको सहकार्यमा पोखरामा सञ्चालन भएको सात दिने अभिनय प्रशिक्षण कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ।
बैशाख १६ गतेदेखि २२ गतेसम्म हंशध्वनि थिएटर, नदीपुर–३ पोखरामा सम्पन्न साे कार्यशालामा वरिष्ठ रंगकर्मी तथा अभिनय प्रशिक्षक अनुप बरालद्वारा प्रशिक्षण प्रदान गरिएको थियो। कार्यक्रममा गुरुङ चलचित्र क्षेत्रका कलाकार, नयाँ पुस्ताका प्रशिक्षार्थी तथा चलचित्रकर्मीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यशालामा अभिनय कला, संवाद अभिव्यक्ति, पात्र निर्माण, रंगमञ्चीय अनुशासन, प्रस्तुति शैली तथा क्यामेराअगाडि कलाकारले अपनाउनुपर्ने व्यावहारिक सीपहरूबारे प्रशिक्षण दिइएको थियो।
समापन कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, वरिष्ठ कलाकार माओत्से गुरुङ, जिफानका सल्लाहकार कृष्णकुमार गुरुङ तथा चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष सन्तोष वस्यालको उपस्थिति रहेको थियो भने कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।
निकट भविष्यमा सन्चालनमा आउन लागेको साे हंशध्वनि एक्टर्स स्टुडियोको विशेष सहयोगप्रति आयोजकले आभार व्यक्त गरेका छन्।
यस कार्यशालाले गुरुङ चलचित्र क्षेत्रका कलाकारहरूमा अभिनयप्रतिको आत्मविश्वास, व्यावसायिक सोच तथा सिर्जनात्मक क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको सहभागीहरूले बताएका छन्।
Categorized in सिनेमा

