STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पूर्वयुवराज पारस शाहले स्कुल बसलाई पेस्तोल ताकेको आरोप

Janjati Khabar – Janjati Khabar | २०८० फाल्गुण १५, मंगलबार

काठमाडौं– पूर्वयुवराज पारस शाहले चितवनको एउटा विद्यालयको स्कुल बसलाई पेस्तोल ताकेको आरोप लागेको छ। भरतपुरस्थित सनराइज इङ्गलिस बोर्डिङ स्कुलको बस गत बुधबार विद्यार्थी बोकेर घरघर पुर्‍याउन गइरहेको बेला पूर्वयुवराज पारसले ड्राइभरलाई थर्काउँदै गाडीतर्फ पेस्तोलसमेत ताकेको प्रत्यक्षदर्शीको भनाइ छ।

सोही विद्यालयमा आफ्नो बच्चा पढाइरहेका नेपाल क्रिकेट संघ (क्यान) बागमती प्रदेश कार्यसमिति सदस्य अनिल अधिकारीले फेसबुकमा घटनालाई गुपचुप राख्न खोजिएको दाबी गरेका छन्।

उनले लेखेका छन्, ‘चितवनको सनराइज स्कुलको विद्यार्थी बोकिरहेको स्कुल बस ड्राइभरलाई केही दिनअघि पूर्वयुवराज पारस शाहले बन्दुक देखाएर तथानाम गाली गरेको घटनाको विषयमा स्कुलको प्राचार्य शिव बगाले सरलाई कार्यकक्षमा भेटेर जानकारी लिएर फोनबाट चितवन प्रहरी प्रमुख भावेश्वर रिमाल, नेपाली कांग्रेस चितवनको पार्टी सभापति राजेश्वर खनाल, भरतपुर महानगरका मेयर रेनु दाहाल, नगर शिक्षा अधिकारी महेन्द्र पौडेल, चितवन क्षेत्र नम्बर २ की सभासद शान्ति परियार, नेताहरू जितनारायण श्रेष्ठ, टेकप्रसाद गुरुङ, कृष्णराज लब्लीलाई जानकारी गराएको छु । केही विद्यार्थी र युवा नेताहरूलाई घटनाको जानकारी छ । सनराइज स्कुलको विद्यार्थी तथा स्टाफहरू सबलाई थाहा छ। उनीहरू सबै बोल्न डराइरहेका छन् । प्रहरीले घटनाको अनुसन्धान गर्दै छ भनेर पन्छिएका छन्।’ 

यस विषयमा विद्यालयका प्रधानाध्यापक शिवकुमार बगालेले घटनामा संलग्न व्यक्ति पारस शाह नै हुन् भन्ने यकिन नभएको बताए।

‘विद्यार्थी बोकेर बस जाँदै गर्दा पछाडिबाट एउटा प्राइभेट कार तीव्र गतिमा गइरहेको रहेछ। कार टाढा नै भएकोले विद्यार्थी झार्न लाग्दा ती सन्की व्यक्तिले एकदमै चर्को स्वरमा हर्न बजाए छन्। त्यसपछि गाडीबाट ओर्लिएर कोटको खल्तीबाट पिस्तोल जस्तो बस्तु निकालेर थर्काएर तुरुन्तै तीब्र गतिमा अघि बढेछन्,’ उनले भने।

उनले यसबारेमा जिल्ला प्रहरी कार्यालय चितवनमा सबै जानकारी गराएको बताए। तर चितवन प्रहरीले भने पूर्वराजपरिवारका सदस्यको बारेमा कुनै जानकारी नआएको प्रतिक्रिया दिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी श्रीराम भण्डारीले भने, ‘मैले पनि सामाजिक सञ्जालतिर देखेर थाहा पाएको हुँ, हामीलाई यसबारे कसैले जानकारी गराएको पनि छैन, निवेदन पनि परेको छैन।’

Categorized in राष्ट्रिय