STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

पूर्वगृहमन्त्री रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति

Janjati Khabar – Janjati Khabar | २०८१ कार्तिक ४, आइतबार

काठमाडौँ - पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

कास्की जिल्ला अदालतले उनलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की प्रहरीलाई अनुमति दिएको हो ।

पोखरास्थित सूर्यदर्शन सहकारीका पीडितहरूले उक्त सहकारीका पूर्व अध्यक्ष तथा सञ्चालक गितेन्द्रबाबु (जीबी) राई सहितलाई अनुसन्धान गर्न प्रहरीमा जाहेरी दिएका थिए।

पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ठगी तथा सङ्गठित अपराध सम्बन्धी मुद्दामा अनुसन्धानका लागि पक्राउ गरी पोखरा लगिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई आइतबार अदालत उपस्थित गराइएको थियो।

गोर्खा मिडियाका शेयर सदस्य, सञ्चालक सदस्य र प्रबन्ध निर्देशकको भूमिका र जिम्मेवारीमा रहेका व्यक्तिहरूले कम्पनीमा प्राप्त हुने रकमप्रति जिम्मेवारी र दायित्वबोध नगर्न नमिल्ने भन्दै लामिछाने लगायतलाई कानुनी कारबाही गर्न समितिले सिफारिस गरेको थियो।

प्रतिनिधि सभा सदस्य लामिछानेलाई सहकारी ठगी आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कास्कीले सभामुख देवराज घिमिरेलाई जानकारी गराएको छ। संघीय संसद्को कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनुपर्ने संवैधानिक प्रावधान छ।

सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्नताको आरोपमा लामिछानेलाई प्रहरीले कात्तिक २ गते काठमाडौंमा पक्राउ गरेर सोही राति पोखरा लगेको थियो। लामिछानेलाई सहकारी ठगी तथा सङ्गठित अपराधमा अनुसन्धान गर्न पक्राउ गरिएको प्रहरीले जनाएको छ। शनिबार सार्वजनिक बिदा परेकाले उनलाई आइतबार अदालत उपस्थित गराइने जनाइएको छ।

सहकारी पीडित कृष्णप्रसाद जैसी लगायतले सूर्यदर्शन सहकारीका पूर्व अध्यक्ष तथा जीबी राई सहितलाई अनुसन्धान गर्न प्रहरीमा जाहेरी दिएका थिए। सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन विशेष समितिले जीबी राईसँगै लामिछाने, कुमार रम्तेल र छविलाल जोशीलाई कानुनी कारबाही गर्न सिफारिस गरेको थियो। आरोपित जोशी असोज पहिलो साता पक्राउ परिसकेका छन्।

सूर्यदर्शन लगायतका सहकारीमा सर्वसाधारणले बचत गरेको ६५ करोड ५४ लाख रुपैयाँ अपचलन गरेको गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने लगायतलाई कारबाही गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ। शेयर सदस्य, सञ्चालक सदस्य र प्रबन्ध निर्देशकको भूमिका र जिम्मेवारीमा रहेका व्यक्तिहरूले कम्पनीमा प्राप्त हुने रकमप्रति जिम्मेवारी र दायित्वबोध नगर्न नमिल्ने समितिको निष्कर्ष छ।

कम्पनीको वित्त सञ्चालनमा सहभागी खातावाल हस्ताक्षरकर्ताहरूले दायित्व बहन गर्नुपर्ने भन्दै उनीहरूलाई कारबाही गर्नुपर्ने प्रतिवेदनको  ठहर छ। 

समितिले भनेको छ, ‘सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोर्खा मिडिया प्रालिको खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरू अध्यक्ष जीबी राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारको रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानून बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने।’ 

गोर्खा मिडियाका अध्यक्ष जीबी राई र उनी निकटस्थहरूले कानून विपरीत ऋण तथा पेश्की गरी दुई अर्ब ५८ करोड रुपैयाँ अपचलन गरेको प्रतिवेदनमा उल्लेख छ। जसमध्ये रवि लामिछानेले दुई करोड रुपैयाँ लगेका थिए।

Categorized in राजनीति