STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पुससम्ममा साझाका विद्युतीय बस आउने

Janjati Khabar – Janjati Khabar | २०७८ भाद्र १८, शुक्रबार

काठमाडौं - साझा यातायातले आगामी पुसमा तीनवटा विद्युतीय बस आइपुग्ने जनाएको छ ।

विद्युतीय बसबारे जानकारी लिन बिहीबार साझा यातायातको कार्यालय पुल्चोक गएकी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई साझा यातायातले सो जानकारी दिएको हो ।

सो अवसरमा मन्त्री भुसालले विद्युतीय सवारीसाधन सञ्चालनबाट स्वदेशी कच्चा पदार्थको प्रयोगमा जोड दिइन् । डलरमा खरिद गरिएको एलपी ग्यास र पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सबै प्रविधिलाई विस्थापन गर्नुपर्ने उनको भनाइ छ । उच्च व्यापार घाटा कम गर्नका लागि पनि विद्युत् खपतलाई बढावा दिनुपर्ने बताइन् ।

मन्त्री भुसालले चार्जिङ स्टेसनका लागि उपयुक्त विकल्प खोज्न पहल गर्ने बताइन । उनले विद्युतीय बस सञ्चालनका लागि आवश्यक पर्ने संरचना निर्माणका लागि पहल लिन साझा यातायातलाई आग्रह गरीन् । ऊर्जा सचिव देवेन्द्र कार्कीले विद्युतीय बस सञ्चालनमा सरकारका तर्फबाट सहयोग हुने बताए ।

साझा यातायात सञ्चालक समितिका अध्यक्ष कणकमणि दीक्षितले जनस्वास्थ्य, सार्वजनिक यातायात र आर्थिक हिसाबले पनि विद्युतीय बस सञ्चालन गर्नुपर्ने बताएका हुन् । उनले पहिलो चरणमा चार महिनापछि तीनवटा विद्युतीय बस आइपुग्ने बताए ।

साझा यातायात सञ्चालन सदस्य भूषण तुलाधरका अनुसार करबाहेक एउटा बसको मूल्य एक करोड पाँच लाख रुपियाँ पर्नेछ । कर, चार्जर र पाँच वर्षको मर्मत खर्चसहित प्रतिबस एक करोड ५२ लाख रुपियाँ लागत लाग्नेछ ।

Categorized in बिजनेस