STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पुरातत्व विभागलाई महानगरको पत्राचार

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २, बिहिबार

काठमाडौँ महानगरपालिकाले स्वयम्भू क्षेत्रको गरिमा बचाइराख्न र नयाँ संरचना निर्माण कार्य स्वीकृत नगर्न पुरातत्व विभागलाई पत्राचार गरेको छ । यस क्षेत्रमा कुनै पनि संरचना बनाउनैपर्ने भएको वडा कार्यालयसँग समन्वय र सिफारिशमा मात्र प्रक्रिया अगाडि बढाउन भनिएको छ । कामपाको वडा नं १५ ले पुरातत्व विभागलाई पत्राचार गरेको हो । वडा नं १५ का वडाध्यक्ष एवं कामपाको प्रवक्तासमेत रहनुभएका ईश्वरमान डङ्गोलका अनुसार स्वयम्भू स्तूप जाने पूर्वी भर्‍याङ्तर्फ आधुनिक निर्माण सामग्रीको प्रयोग गरेर पूर्वाधार बनाउने काम भएपछि स्वयम्भूको मौलिक संरचनाका विषयमा प्रश्न उठ्न थालेपछि पत्राचार गरिएको हो । आधुनिक निर्माण सामग्रीको प्रयोग भएको विषयमा सूचना पाएपछि वडाले निर्माण पक्षलाई वैशाख ३० गतेदेखि निर्माणको काम रोक्का गरी निर्माणसम्बन्धी जानकारी महानगरको केन्द्रीय कार्यालयमा पठाएको हो । नियमनकारी निकाय कसैसँग समन्वय नगरी आधुनिक निर्माण सामग्रीको प्रयोग गरेर अघि बढाइएको संरचना बनाउने काम प्रक्रियाविपरीत भएकाले रोक्का गरिएको प्रवक्ता डङ्गोलले जानकारी दिनुभयो । गोर्खा भूकम्पका कारण स्वयम्भू क्षेत्रका १८ सम्पदामा भूकम्पले क्षति पुगेकामा १५ को पुनःनिर्माण भइसकेको छ । यस्तै भूकम्पले क्षतिग्रस्त बौद्धनाथको एउटा क्षति भएकामा त्यसको पनि पुनःनिर्माणको कार्य भइरहेको पुरातत्व विभागले जानकारी दिएको छ । भूकम्पका कारण क्षति भएका सम्पदामध्ये हालसम्म २२३ सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ । गोरखा भूकम्पले भत्किएका सम्पदामध्ये पुरातत्व विभागमार्फत १६१, पशुपति क्षेत्र विकास कोषमार्फत २० र सङ्घसंस्थामार्फत ४२ गरी हालसम्ममा २२३ सम्पदाको पुनःनिर्माण सकिएको हो ।
Categorized in राष्ट्रिय