STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पुरस्कार पाइँदैन कि भन्ने चिन्ता नलिनुस् : प्रधानमन्त्री

Janjati Khabar – Janjati Khabar | २०८० भाद्र २८, बिहिबार

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले खेलाडीलाई घोषणा गरेको पुरस्कार शुक्रवारको मन्त्रीपरिषद् बैठकबाट निकासा हुने बताएका छन् ।

बिहीवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा १९ औं एशियाली खेलकुदका लागि भाग चीन जाने नेपाली खेलाडीहरुलाई बिदाइ गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

उनले खेलाडीलाई घोषणा गरिएको पुरस्कार खेलाडीहरुले आजसम्म पनि नपाएको भन्ने कुरा आफूलाई जानकारी रहेको भन्दै केही प्राविधधिक कारण र नीतिगत कारणले दिन नसकिएको स्पष्ट पारे । उनले अहिले नियमावली बनेर अर्थमन्त्रालयबाट खेलकुद मन्त्रालयमा पुगेको र शुक्रवार बस्ने मन्त्रीपरिषद् बैठकबाट पैसा निकासा हुने बताए ।

सरकारले र प्रधानमन्त्रीले घोषणा गरिसकेको पुरस्कार पाइँदैन की भन्ने चिन्ता नलिन खेलाडीहरुसँग उनले आग्रह गरे । उनले देशमा खेल क्षेत्रका भनेजस्ता पूर्वाधार नरहेको उल्लेख गर्दै आधुनिक सुविधा सम्पन्न रंगशाला बनाउने कुरा, कभर्ड हल बनाउने कुरा वा विभिन्न विधाका खेलहरुको निम्ति आवश्यक पर्ने पूर्वाधार निर्माणमा चीन भ्रमणमा खेल क्षेत्रकै प्रगतिका लागि उल्लेख्य पहल गर्ने प्रतिवद्धता जनाए ।

एशियाली खेलकुद हेर्न आफू उदघाटन सत्रमा भाग लिने भन्दै सो क्षण आफ्ना लागि गौरवको विषय हुने उनले बताए । उनले खेल क्षेत्रको विकास राष्ट्र विकासको रणनैतिक र महत्वपूर्ण आधार बनेको बताए ।

नेपाल सरकार खेल क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिहरुको प्रभावकारी कार्यान्वयन गर्न, अपर्याप्त नीतिहरु निर्माण गर्न र संस्थागत एवं संरचनागत विकासका साथै क्षमता अभिवृद्धि गर्न प्रतिवद्ध रहेको उनले बताए ।

उनले भने, ‘यस पटक नेपालले राम्रो गर्ने विश्वास राख्न सकिन्छ । म आफू समेत यस पटक प्रतियोगिता हेर्न र त्यसको उद्घाटन सत्रमा सहभागी हुन चनि भ्रमणमा जाँदैछु । यो मेरो लागि पनि रोमाञ्चक समय हुनेछ । यसले तपाईहरु, मेरो लागि पनि र देशको लागि विशिष्ट गौरवको क्षण हुनेछ । त्यसको उत्साहका साथ म बेइजिङ गएर चीन भ्रमणलाई सफल पार्नेतिर केन्द्रित हुनेछु । खेलकुद मात्र यस्तो एउटा क्षेत्र हो जहाँ खेलमार्फत ठूला युद्ध र मानव सिर्जित विपत्तिहरु समाधान भएका छन् । ठूला द्वन्द्व र सम्भावित नरसंहार पनि खेल क्षेत्रले टारेको छ । खेलमार्फत आपसी सहकार्य, विश्वास, विश्व एकता र पुनःमिलनका आधार तय भएका छन् ।’

प्रधानमन्त्री पुष्पकमल दाहालले एसियाड गेमका लागि नेपाली खेलाडीलाई चीनमा राम्रो व्यवस्थापन भइसकेकाले चिन्ता नलिन पनि आग्रह गरे ।

Categorized in खेलकुद