STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पाँचजनालाई नइ पुरस्कार प्रदान गरिने

Janjati Khabar – विजयरत्न असंबरे | २०८१ माघ १४, सोमबार

साढे छ दशकदेखि नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि समर्पित रही कविता र निबन्धको सिर्जनाका साथै अनुवाद र सम्पादनमा समेत विशेष योगदान गरेबापत पाल्पाका  कृष्णप्रसाद वस्याललाई साठी हजार रुपियाँ राशिसहित ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ का साथै  नइ प्रकाशनले विविध क्षेत्रमा समर्पित राष्ट्रिय जीवनका पाँच जना साधकलाई २०८० सालको ‘नइ पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको कुरा जानकारी गराएको छ ।

यसरी पुरस्कृत हुनेहरुमा  ‘नइ कीर्ति विवेचना’नामक कृतिमार्फत नइ प्रकाशनको कीर्ति, गरिमा र महिमाको अभिवृद्धिका लागि साहित्यकार ठाकुर शर्मा भण्डारीलाई ‘नइ कपिल शोध पुरस्कार’ समर्पण गरिने भएको छ ।  

यस्तैगरी काठमाडौँ उपत्यकाबाहिर रहेर नेपाली भाषासाहित्यको सिर्जना र सङ्गठनको संवर्धनमा समर्पित हुँदै शिक्षा सेवामा समेत योगदान पुर्याउनु हुने झापाका धनकुटे कान्छालाई ‘नइ देरुनीख गौरव पुरस्कार’ समर्पण गरिने भएको छ । 

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिहरूको हित, मर्यादा र सङ्गठनमा क्रियाशील र समर्पित रही देशदेशान्तरमा समेत उल्लेखनीय योगदान पुर्याउने पोखराकी तेस्रो लिङ्गी रजनी थकालीलाई ‘नइ रामलक्ष्मी पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ । 

यी तीनओटा पुरस्कारका राशि जनही पचासपचास हजार रुपियाँ रहेका छन् ।

थाइल्यान्डमा सम्पन्न विश्वका चवालीस राष्ट्रका आदिवासी किशोरीको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा मिस हेरिटेज पेटाइट युनिभर्सबाट सर्वोत्कृष्ट घोषित भई नेपालको प्रतिष्ठा बढाए बापत झापाकी सुश्री मनीषा राजबंशीलाई  पच्चीस हजार रुपियाँ राशिको ‘नइ देरुनीख पौरख पुरस्कार’ समर्पण गरिने भएको छ ।

नइ प्रकाशनका कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले उक्त निर्णय गरेको कुरा नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले बताउनु भएको छ ।

Categorized in साहित्य-कला