STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पद्मरत्न तुलाधरलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने माग

Janjati Khabar – जनजातिखबर संवाददाता | २०७७ मङ्सिर १०, बुधबार

काठमाडौं – मानवाधिकारवादी नागरिक आन्दोलनका अगुवा श्याम श्रेष्ठले पद्मरत्न तुलाधरलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने माग गरेका छन् ।

शंखधर दिवसको अवसरमा मंगलबार काठमाडौं लखुतीर्थस्थित पद्मरत्न तुलाधरको स्मृतिमा भएको विचार गोष्ठीमा श्रेष्ठले सो माग गरेका हुन् ।

शंखधर दिवस एवं नेपाल संवत् आन्दोलनका प्रणेता पद्मरत्न तुलाधरको स्मृतिमा आफ्नो मन्तव्य राख्दै श्रेष्ठले भने, “अन्तर्राष्ट्रिय रुपमै नेपालका एकजना नागरिकको नाम लिनुपर्दा पद्मरत्न तुलाधरलाई अगाडि राख्न सकन्छि । सबै राजनैतिक पार्टीले आ–आफ्नो नेताको रुपमा स्वीकार गरेका एवं आदिवासी जनजाति आन्दोलनलगायत सम्पूर्ण आन्दोलनमा तुलाधरले दिनुभएको योगदानको कदर गर्दै तुलाधर एक स्वच्छ नागरिक भएकाले सरकारले तुलाधरलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्छ ।”

नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४१ को आयोजनामा लखुतीर्थस्थित जगतसुन्दर ब्वनेकुथिमा भएको सो विचार गोष्ठीमा नेवार अगुवा मल्ल के. सुन्दरले पद्मरत्न बहुआयामि व्यक्ति भएकाले तुलाधरले हाँकेका सबै आन्दोलन अहिले पनि अघि बढिरहेको बताएका थिए । सुन्दरले नेपाल संवत्को नववर्ष उत्सव मात्र नभई एउटा आन्दोलन पनि भएको विचार पनि व्यक्त गरेका थिए ।

कार्यक्रममा डा. पुष्पराज राजकर्णिकार, गोविन्द श्रेष्ठलगायतका वक्ताले पनि नेपाल संवत् र पद्मरत्न तुलाधरको विषयमा आ–आफ्ना विचार राखेका थिए ।

पद्मरत्न तुलाधरका कान्छो छोरा सर्वणरत्न तुलाधरको उपस्थितिमा भएको कार्यक्रम समारोह समितिका अध्यक्ष रमेश महर्जनको सभापतित्वमा सम्पन्न भएको थियो ।

कार्यक्रमलाई सचिवालय संयोजक उमेश स्थापितले संचालन गरेका थिए भने कार्यक्रमकाे नेवाः युट्युबले आफ्नाे फेसबुकबाट प्रत्यक्ष प्रशारण गरेकाे थियाे ।

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेला ।

Categorized in राष्ट्रिय