पदमागर्दले जोडिँदै पञ्चकोट–ढोरपाटन
Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र २४, मंगलबार
बागलुङको पर्यटन विकासका लागि नयाँ पदमार्ग पहिचान गरिएको छ । नेपालका १०० पर्यटकीय गन्तव्यमध्येका दुई गन्तव्य पञ्चकोट र ढोरपाटनलाई पदमार्गमार्फत जोड्न पदमार्ग पहिचान गरिएको हो ।
पदमार्गले दुई पर्यटकीय गन्तव्यलाई जोडेर त्यस क्षेत्रमा भएका अन्य पर्यटकीय सम्भावना बोकेका स्थानको प्रवद्र्धनका लागि पदमार्गको पहिचान गर्न थालिएको हो । पहिलो चरणमा बागलुङ नगरपालिका–६ पञ्चकोटदेखि काठेखोला गाउँपालिका र म्याग्दीको बेनी नगरपालिकाको शिर बेलढुङ्गासम्म पदमार्गको रेखाङ्कन गरिएको छ ।
पदमार्गलाई विस्तार गरी ढोरपाटनसम्म पु¥याइनेछ । जिल्लाको पर्यटकीयस्थललाई पदमार्गमा जोड्न पञ्चकोट, संसारकोट, थाप्लेको धुरी, कान्छो धौलागिरि, बेलढुङ्गासम्म पदमार्गको पहिचान गरिएको बागलुङ पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काले बताउनुभयो । भ्रमण वर्ष २०२० मा बागलुङ आउने पर्यटकलाई पदमार्गका बारेमा जानकारी गराई पर्यटन प्रवद्र्धनमा सहयोगका लागि समेत पदमार्ग रेखाङ्कन गरिएको छ ।
पदमार्गको ‘धौलागिरि चक्रपथ’ नामकरणसमेत गरिएको छ । बागलुङका वडा नं ६ र ७, बेनी नगरपालिकाका वडा नं २ र ३, काठेकोला गाउँपालिकाका वडा नं १, २ र ३ का पर्यटकीयस्थल तथा ऐतिहासिक महत्व बोकेका स्थानलाई समेटेर पञ्चकोट–बेलढुङ्गा पदयात्रा गरी पदमार्गको रेखाङ्कन गरिएको थियो ।
पञ्चकोटदेखि बेलढुङ्गा, ताराखोला हुँदै ढोरपाटनसम्म नयाँ पदमार्ग निर्माणका लागि पहिलो चरणमा २५ किलोमिटर पदमार्गको रेखाङ्कन गरिएको धौलागिरि पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष खिमानन्द कँडेलले बताउनुभयो । पञ्चकोटदेखि ढोरपाटन पुग्ने पदमार्ग झण्डै १०० किलोमिटर लामो हुनेछ ।
“दुई पर्यटकीयस्थललाई जोडी ढोरपाटन शिकार खेल्न जाने बाह्य पर्यटकलाई पञ्चकोट हुँदै पदमार्गको माध्यमबाट ढोरपाटन पु¥याउने लक्ष्य हो”, कँडेलले भन्नुभयो, “पदमार्गमार्फत पर्यटक आवतजावत गर्दा पदमार्गले छोएका अन्य पर्यटकीयस्थलको थप प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।”
Categorized in राष्ट्रिय


