पत्रकार महतोलाई दिना–भद्री सम्मान
Janjati Khabar – जनजाति खबर | २०७६ माघ ९, बिहिबार
मुसहर समुदायको उत्थानमा योगदान पु¥याएवापत पत्रकार राजकरण महतोलाई ‘दिना–भद्री सम्मान’ प्रदान गरिएको छ ।
नेपाल राष्ट्रिय मुसहर सङ्घ र अन्तरराष्ट्रिय मुसहर भुइँया विकास परिषद्द्वारा सर्लाहीको ईश्वरपुर नगरपालिका–५ बहुअर्वामा बुधबार आयोजित कार्यक्रममा प्रदेश नं २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल र भारतको बिहार प्रदेशका विधायक डा सन्तोष माझी मुसहरले संयुक्तरूपमा उहाँलाई सो सम्मान प्रदान गर्नुभयो ।
‘दिना–भद्री’ र ‘भुइँया महाराज’ मुसहर समुदायका कुलदेवता मानिन्छन् । मुसहरले मनाउने अन्तरराष्ट्रिय भुइँया दिवसको अवसरमा मुसहर उत्थानमा कार्यरत दुवै संस्थाले कुलदेवताको सम्झनामा सो सम्मान स्थापना गरेका हुन् ।
महोत्तरीको बर्दिवास नगरपालिका–१२ बिजलपुराका बासिन्दा पत्रकार महतोले मुसहर बालबालिकाको शिक्षामा प्रचारात्मक अभियान सञ्चालन गर्दै आउनुभएको छ । उहाँ प्रेस सङ्गठन नेपालको महोत्तरी संयोजक हुनुहुन्छ ।
Categorized in राष्ट्रिय


