
नेवारहरुको प्रविधि र शिल्प ज्ञानबारे अभिलेखीकरण
Janjati Khabar – विजयरत्न असंबरे | २०८२ बैशाख २९, सोमबार

नेवाः समुदायमा सयौं वर्षदेखि प्रचलित र कतिपय हराउँदै जान थालेको ज्ञान, सीप र प्रविधिको अभिलेखीकरण गर्ने कार्य शुरु गरिएको छ।
नेपालभाषा एकाडेमी पहलमा सो कार्यको शुरुआत गरिएको हो। विभिन्न क्षेत्रमा कार्यरत प्राज्ञ, विषयविज्ञमार्फत नेवाः समुदायमा प्रचलित कृषि , काष्ठकला र शहरी विकास सम्बन्धी ज्ञान,प्रविधि र सीपको अभिलेख गर्ने कार्यको यसरी शुरुआत गरिएको हो। यही कार्यअन्तर्गत शनिबार राजधानीस्थित राष्ट्रिय सभागृहमा नेवाः प्रविधि र शिल्प ज्ञानबारे पहिलो राष्ट्रिय गोष्ठी आयोजना गरिएको थियो। आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान र काठमाडौं महानगरपालिकाको सहकार्यमा सो कार्य सम्पन्न गरिएको थियो ।
गोष्ठीमा शहरी योजनाविद पद्मसुन्दर जोशीले विश्वमा शहरीकरणको मापदण्ड र किराँतकाल, लिच्छिविकालमा उपत्यकामा विकसित बस्ती र शहरीको तुलना गर्दैबस्तीको विशेषता, त्यहाँभित्रको सामहिकता, आर्थिक प्रणाली र पर्यावरणको दृष्टिबाट विश्लेषण प्रस्तुत गर्नुभयो। त्यसैगरी आर्किटेक्ट सिर्जना प्रजापति र गणेशभक्त शिल्पकारले काठमाडौं उपत्यकामा विकसित परम्परा तथा मौलिक घर निर्माणको प्राविधिक पक्षको विवेचना गर्नुभएको थियो ।
काठ र माटोले बनाएको घर १९९० सालको भूकम्प र २०७२ सालको भूकम्पले नलडेको कारणसहित र त्यसमा प्रयोग गरिएको प्रविधिबारे उहाँहरुको प्रस्तुति रहेको थियो। त्यस्तै वनस्पती विज्ञ डा. निर्मला जोशी र कृषिविज्ञ बुद्धिरत्न डंगोलले काठमाडौं उपत्यकामा प्रचलित खेती प्रणालीको वैज्ञानिकता र त्यससँग जोडिएको संस्कृति र संस्कारबारे कार्यपत्र प्रस्तुत गर्नुभयो।
ती कार्यपत्र प्रस्तुत गर्ने क्रममा हराइसकेका कपिपय प्रविधि र त्यसको नाम विभिन्न व्यक्तिहरुसँग अन्तरवार्ता, कुराकानीमार्फत संकलन गरिएको थियो। नेवाः ज्ञान र सीपको अभिलेखीकरणको यो पहिलो प्रयास रहेको एकेडमीले जनाएको छ। एकेडमीका अनुसार दोस्रो चरणमा धातुकला, काष्ठकला लगायतका प्रविधिबारे छलफल गराइने छ। त्यसपछि काष्ठकला, परम्परागत रुपमा घर बनाउने प्रविधि, नेवाः बस्ती र शहरीकरणको प्रविधि, धातुकला, सुकुल बुन्ने, सुनचाँदीको गरगहना बनाउने लगायतका ज्ञान, सीप र प्रविधिको अभिलेखीकरण कार्य गरिने बताइएको छ। नेवाः समुदायमा प्रचलित धातुकला, हात र खुट्टा दुखेमा परम्परागत रुपमा मसाज गर्ने प्रविधिलगायत विषयमा क्रमशः सम्मेलन गर्दै जाने पनि एकाडेमीको योजना रहेको छ।
'सार्वजनिक वृत्तमा नेवाः समुदायलाई चिनाउँदा संस्कृति, सम्पदा, भाषा कला र लिपिको हिसाबले मात्र चर्चा हुने गर्ने गरेको स्थिति छ। यसरी चिनाउने र चर्चा गर्ने कार्यले समुदायको परिचय भने पूर्ण रुपमा समेटिएको छैन। यहाँभित्र धेरै ज्ञान, सीप र प्रविधि छ। जुन अद्यापि अभ्यासमा छन् र कतिपय हराइसकेका छन्। त्यसको खोज गरी अभिलेखीकरण गर्नुपर्ने खाँचो छ' -एकेडमीका चान्सलर मल्ल के सुन्दरले भन्नुभयो।
गोष्ठीको उद्घाटन गर्दै उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेवाः सभ्यतालाई संरक्षण गर्न सरकार लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। काठमाडौं महानगरपालिकाका उपमेयर सुनीता डंगोलले नेवाः समुदायमा प्रचलित ज्ञान र सीपको पुस्तान्तरणको खाँचो औंल्याउनुभयो ।
नेवाः समुदाय विशेषतः भाषा लिपि कला, साहित्य, संस्कृति र सम्पदालाई केन्द्रविन्दु बनाएर मात्र कार्यक्रम गर्दै आएकोमा यसपटक प्रविधिलाई लिएर गरिएको सो गोष्ठीलाई नौलो रुपमा हेरिएको थियो।
Categorized in राष्ट्रिय