STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेवाः गुथी डेनमार्कले मनायो नेपाल संवत् ११४३

Janjati Khabar – Janjati Khabar | २०७९ कार्तिक १६, बुधबार

काठमाडौं- नेवाःगुथी डेनमार्कले शुभकामना आदान–प्रदान गर्दै नयाँ वर्ष (नेपाल संवत् ११४३) भव्य रुपमा मनाएको छ । नेवाःगुथी डेनमार्ककी संस्थापक अध्यक्ष शशी श्रेष्ठले नयाँ वर्षको पहिलो दिन अर्थात् ‘न्हूदँया भिन्तुना’ (नयाँ वर्षको शुभकामना आदान प्रदान) कार्यक्रमको आयोजना गरिएको जानकारी गराएकी हुन् ।

कार्यक्रममा संस्थाका अध्यक्ष राम महर्जनले सहभागी सबैलाई स्वागत गरेका थिए । सबै आदिवासी जनजाति, भाषा–भाषीलगायतले आ–आफ्नो परम्परा अनुसार नेवार समुदायको म्हपूजालाई डेनमार्कबासी नेपालीले सांस्कृतिक साँझको आयोजना गर्दै हर्षोल्लासपूर्ण रुपमा मनाइएको संस्थापक शशी श्रेष्ठले जानकारी गराइन् ।

उल्लेख्य सहभागी रहेको कार्यक्रममा हरेकलाई मण्डल तयार गरिएको थियो । संस्थापक श्रेष्ठले भनेकी छन्, ‘हाम्रो संस्कृति, हाम्रो परम्परा र हाम्रो गौरव मूल–मन्त्रका साथ विदेशी भूमि डेनमार्कमा विगत दश वर्षदेखि नेपाल संवत् मनाउँदै आएका छौं ।’

डेनमार्कमा रहेका संघ–संस्थाहरुको उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रममा बालबालिका र महिलाहरु हाकु र पटासीमा सजिएका थिए, जसको कारण कार्यक्रमलाई थप आकर्षक बनेको थियो ।

सहभागीहरुले नेपालमै रहेको अनुभूति भएको समेत प्रतिक्रिया दिएका थिए । कार्यक्रममा नेवार मिष्ठान्न भोजनको समेत व्यवस्था गरिएको थियो ।

डेनमार्कमा नेवार कला र संस्कृतिको प्रवर्धन र संरक्षणमा संस्थागत सक्रियता देखाउदै आएका राम महर्जन, शशी श्रेष्ठ, रवि श्रेष्ठ, राजमान महर्जन, गौरव महर्जन, बादल महर्जन, उज्वल महर्जनलगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रवासमा रहेर गरिने यस्ता परम्परागत कला र संस्कृतिको प्रवर्धन र संरक्षणबाट दोश्रो पुस्ताका बालबालिकाहरुलाई समेत प्रेरणा मिल्ने विश्वास लिइएको छ ।

Categorized in अन्तर्राष्ट्रिय