STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपाल–भारत सीमास्तम्भहरूको मर्मत–सम्भार सुरु

Janjati Khabar – Janjati Khabar | २०८० मङ्सिर १८, सोमबार

झापा - सिमानाको बारेमा भारतीयको दादागिरीका कारण बेलाबखत सिमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकहरूले सास्ती व्यहोर्न बाध्य हुँदै आएका छन् । खुला सिमाना रहेको नेपाल–भारतको भूमि सीमा स्तम्भले मात्रै छुट्याउने गर्दछ । तर, त्यहीँ सिमा स्तम्भ पनि समयमा मर्मत सम्भार र संरक्षण गर्न नसक्दा भारतीय पक्षले नेपाल र नेपाली माथि ज्यादती गर्ने गरेका छन् ।

सिमानाको बारेमा विभिन्न समस्याहरू आएका कारण त्यसलाई निराकरण गर्न अहिले सम्बन्धि निकायहरू सक्रिय हुन थालेका छन् । जसको फलस्वरूप नेपालको पूर्वी क्षेत्र झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल–भारत सीमानामा रहेका ३१७ वटा सीमा स्तम्भको मर्मत सम्भार आजबाट सुरु भएको छ ।

सशस्त्र प्रहरी बलको भद्रपुरस्थित २ नं. गणको प्राविधिक टोलीले मेचीनगर नगरपालिका वडा नं. ७ सतिघट्टामा रहेको स्थायी सीमा स्तम्भ (पीपी) ५५ अन्तर्गतको ९१/१ नम्बरको रेफरेन्स सीमा स्तम्भ (आरपी)बाट आज एक समारोहबीच मर्मत सम्भार कार्य शुभारम्भ गरेको हो ।

मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल, सशस्त्र प्रहरी बल १ नम्बर बाहिनी मुख्यालयका बाहिनीपति अञ्जनीकुमार पोखरेल र नेपाल प्रहरीका कोशी प्रदेश प्रमुख राजेशनाथ बाँस्तोलाले उक्त सीमा स्तम्भमा संयुक्त रुपमा रंगरोगन गरेर सीमा स्तम्भहरुको मर्मत सम्भार कार्यको उद्घाटन गरे ।

बाहिनीपति पोखरेलले कोशी प्रदेशमा पहिलोपल्ट नेपाल–भारत सीमा स्तम्भहरुको मर्मत सम्भार सुरु भएको बताए । कोशी प्रदेशभर भारतसँगको ४३० किलोमिटर लामो खुला सीमानामा कूल ९५७ वटा सीमा स्तम्भ रहेको र सीमा सुरक्षाका लागि एक हजार ५०० जनशक्ति परिचालन गरिएको उनको भनाई छ ।

नेपाल र भारतको बोर्डर वर्किङ रुपको सहमति अनुसार जोर अंकका सीमा स्तम्भहरुको मर्मत सम्भार भारतीय पक्षले र बिजोर अंकका सीमा स्तम्भहरुको मर्मत सम्भार नेपाली पक्षले गर्नु पर्नेछ । भारतीय पक्षले झापा जिल्लासँग सीमाना जोडिएका जोर अंकका सीमा स्तम्भहरुको मर्मत सम्भार पहिल्यै गरिसकेको छ ।

झापा जिल्लामा मेचीनगरदेखि गौरीगञ्जसम्मको १४४ किलोमिटर लामो खुला सीमामा नेपाली पक्षले बिजोर अंक भएका ३१७ वटा सीमा स्तम्भको मर्मत सम्भार गर्ने सशस्त्र प्रहरीले जनाएको छ । मर्मत सम्भार क्रममा भत्किएका र ढलेका स्तम्भहरुको पुनस्र्थापना र सबै स्तम्भको रंगरोगन गरिने सशस्त्र प्रहरीको भनाइ छ ।

झापासँग जोडिएको भारतीय सीमानामा कूल ९५७ वटा सीमा स्तम्भ रहेको र आज मर्मत सम्भार सुरु भएको सतिघ्ट्टादेखि उत्तरतर्फ इलामसम्मको सीमा स्तम्भहरु भने हाल मर्मत सम्भार नगरिने सशस्त्र प्रहरीले जनाएको छ । उक्त क्षेत्रका कतिपय सीमा स्तम्भहरु मेची नदीको बाढीले हराएका वा पुरिएको अनुमान गरिएको छ ।

नेपाल सरकारले विशेष कार्यविधि पारित गरेर सशस्त्र प्रहरी बललाई सीमा स्तम्भहरुको सुरक्षा र मर्मत सम्भारको जिम्मेवारी दिएको छ । यसले अब बारम्बर हुने सिमा बिबाद अन्य गर्न सहयोग पुर्याउने स्थानीय सरकारले अपेक्षा लिएको बताउँछन् ।

सतिघट्टामा नेपाली पक्षले सीमा स्तम्भहरुको मर्मत सम्भार कार्य शुभारम्भ गरेको कार्यक्रममा भारत पश्चिम बंगालको पानीटंकीस्थित भारतीय सीमा सुरक्षा बलको ४१ नं. बटालियनका निमित्त कमान्डर नबिनकुमार रायको समेत उपस्थिति रहेको थियो ।

दुई देशका सुरक्षा निकायका जिम्मेवार प्रतिनिधिसहित जनप्रतिनिधि र सरोकारवालाहरुको उपस्थितिमा सीमा स्तम्भहरुको मर्मत सम्भार कार्य शुभारम्भ भएको छ । यसलाई सकरात्मक मान्न सकिन्छ ।

Categorized in राष्ट्रिय