STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपाली नारीहरु साँच्चै मात्र खेलौना हुन् त ?

Janjati Khabar – ललेन्द्र शाक्य | २०७७ फाल्गुण ३, सोमबार

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटना सेलाउन नपाउँदै फेरि बैतडीमा केही दिनअगाडि घटना घट्यो दुरुस्त निर्मला पन्त बलात्कारपछि हत्याकाण्ड जस्तै ।

बैतडी दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया किशोरी १२ कक्षामा अध्ययनरत् भागरथी भट्ट माघ २१ गते विद्यालय गएकी र माघ २२ गते सामूहिक बलात्कारपछि घाँटी थिची विभत्स रुपमा हत्या भएको शब फेला पर्यो, तर अहिलेसम्म पनि बलात्कारी पहिचान गर्न सकेको छैन सुरक्षा निकायले । फेरि मोरङमा पनि पिसाब फेर्न गएकी १४ बर्षीया बालिका सामूहिक बलात्कारको शिकार हुन पुगिन् ।  हुनतः निर्मला पन्तलाई बलात्कार पछि हत्या गर्ने बलात्कारी हत्यारा पक्रन सकेको छैन सुरक्षा निकायले भने भागरथी भट्ट बलात्कारपछि हत्याकाण्डका अभियुक्तहरु समाउँलान् भन्ने कुनै ग्यारेन्टी छैन ।

प्रशासन छ, मन्त्रालय छ, मन्त्री छ, सुरक्षा निकाय छ, जनताको सुरक्षा र संरक्षण गर्न नसक्ने कठपुतलीको रुपमा रहेको छ गृह प्रशासन । कुन मुखले गृहमन्त्रीको पद धारण गरी हाँस्य पात्र बनिरहेका छन् देशका गृहमन्त्री । लाजहीनको संज्ञा दिए पनि दुईमत नहोला । क्वीन्टलका क्वीन्टल सुनकाण्डका मतियारहरुलाई संरक्षण दिई “खै कहाँ छ सुन ?” भनी हाँस्यव्यंग्य पारामा ढिसमिस गरियो । निर्मला पन्तका हत्याराहरुलाई खुल्लेआम छोडी दियो । यस्ता कूकर्म त कति छन् कति नेपाल सरकारको ।

देशमा हाल महिला राष्ट्रपति छिन् । महिला न्यायाधीश भईसकेकी छिन्, महिला सभामुख भईसकेकी छिन्, महिला मन्त्रीहरु छिन्,महिला अधिकारकर्मी संस्थाहरु थुप्रै छन् । तिनीहरुले महिलाको संरक्षण र सुरक्षामा खै त कार्यान्वयन गरेको ? केही दिन अगाडि नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपतिलाई बडामहारानीको संज्ञा दिएकोमा केही महिला अधिकारकर्मी संस्थाका महिलाहरुले राष्ट्रपतिको अपमान गरियो भनी गृहमन्त्रालयमा झाँक्रीलाई गिरफ्तार गरी कारवाही गर्नुपर्छ भनी उजुरी दिए । देशमा बालिका तथा महिलाहरुलाई बलात्कारपछि हत्या भईरहेकोप्रति बलात्कारी र हत्याराहरुलाई कारवाहीको माग किन गर्न सकेका छैनन् ती महिला अधिकारकर्मीहरुले ? बलात्कारी हत्याराहरुलाई फाँसीको सजायँ गर्नुपर्ने कानून ल्याउनु पर्छ भनी किन आवाज बुलन्द गर्न नसकेको ?

जबसम्म साउदी अरबमा जस्तै बलात्कारीलाई फाँसी दिने कानून बन्दैन, तबसम्म निर्मला पन्त, भागरथी भट्ट जस्ती कैयन बालिका एवं महिलाहरु यस्ता घटनाको शिकार भई नै रहन्छन् । यो हिसाबले भन्ने हो भने नेपालका महिलाहरु पुरुषका लागि मात्र खेलौनाको रुपमा रहेको आभास हुन्छ र भईरहेको छ ।

Categorized in विचार