STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपाली कांग्रेसले गर्‌यो चुनावी अभियानको घोषणा

Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण २५, बुधबार

नेपाली कांग्रेसले स्थानीय तहको चुनावलाई मध्यनजर गर्दै चुनावी अभियानको घोषणा गरेको छ । बुधबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर कांग्रेसले सो अभियानको औपचारिक घोषणा गरेको हो ।

‘घरघरमा जाऔँ, कांग्रेसलाई जिताऔँ’ भन्ने मूल नाराका साथ आगामी फागुन २९ गतेदेखि चैत २९ गतेसम्म अभियान सुरु भएको कांग्रेसले जनाएको छ ।

यो अभियानको मूल लक्ष्य नेपाली कांग्रेसलाई हरेक घरमा पु¥याउने र जनताका पीरमर्का बुझ्ने रहेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । उनले विपक्षीहरू कांग्रेसका बारेमा फैलाएका भ्रम चिर्न पनि कांग्रेसका नेता कार्यकर्ता जनतासमक्ष जानु आवश्यक रहेको बताए ।

आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो शक्ति बनाउन ७७ जिल्लामा नेता कार्यकर्ता परिचालित हुने पनि कांग्रेसले जनाएको छ ।

अभियानबारे जानकारी दिँदै महतले पार्टीले सबै कार्यकर्तालाई स्थानीय निर्वाचनको अभियानमा जिम्मेवारी दिने बताए । उनले चुनावमा गठबन्धन हुने/नहुनेबारे अहिले नै बहस गर्न आवश्यक नभएको पनि बताए ।

सो कार्यक्रममा बोल्दै उपसभापति पूर्णबहादुर खड्काले चुनावी गठबन्धनबारे काङ्ग्रेसको केन्द्रीय कार्यसम्पादन र केन्द्रीय समिति बैठकले निर्णय लिने बताए । ‘अहिले हामी गठबन्धनबारे कुनै बहस गर्दैनौँ । कांग्रेसले एक ढिक्का भएर गठबन्धन गर्ने वा नगर्ने निर्णय गर्छ,’ उनले भने, ‘गठबन्धनबारे को नेताले के बोले भन्ने विषयमा चर्चा गर्न आवश्यक छैन ।’

महामन्त्री विश्वप्रकाश शर्माले नेपाली काङ्ग्रेस जनतालाई आफ्नो कुरा सुनाउन मात्र नभएर जनताको कुरा सुन्न पनि घर–घरमा जाने बताए । उनले भने, ‘कांग्रेस जनतासँग मत माग्न मात्र जाँदै छैन, निर्वाचनमा भाग लिन अभिप्रेरित गर्नेछ  । कांग्रेससँग कसैले आत्तिनु पर्दैन । काङ्ग्रेस मर्यादित रूपमा चुनावी अभियानमा जाँदै  छ ।’  

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा उपस्थित हुने भनिए पनि पत्रकार सम्मेलनमा देउवा भने उपस्थित थिएनन् ।

Categorized in राजनीति