STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपालभाषा मंकाः खलःको नाममा जग्गा दर्ता सम्पन्न

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २४, बुधबार

नेपालभाषा मंकाः खलःले किनिराखेको र तथा कविकेशरी चित्तधर हृदयले दान दिएको जग्गा अन्ततः नेपालभाषा मंकाः खलःकै नाममा संस्थागत रुपमा दर्ता भएको छ । मंगलबार मालपोत कार्यालयमा नेपालभाषा मंकाः खलःको नाममा संस्थागत रुपमा सो जग्गा नामसारी गरिएको छ । नेपालभाषा मंकाः खलकले आफ्नै हलसहितको भवन निर्माणको लागि सो जग्गा किनेको थियो । आजभन्दा तीन दशकअघि मंकाः खलकले वर्षेनी योमरि पूर्णिमाको दिन त्यःछिंत्यःबाट संकलित रकमबाट सो जग्गा किनेको थियो । साथै उक्त जग्गासँगै रहेको अर्को जग्गा कविकेशरी चित्तधर हृदयले मंकाः खलकलाई दान दिएका थिए । यी दुवै जग्गा गरी मंकाः खलःसँग अहिले २६ आना (८४२ वर्गमिटर) जग्गा दर्ता रहेको छ । काठमाडौं महानगरपालिका १५ वडा होटल वज्र पछाडि सो जग्गा रहेको छ । नेपालभाषा मंकाः खलकले विधिवत रुपमा दर्ता नभएकोले त्योबेला मंकाः खलःका तत्कालीन पदाधिकारीहरु अध्यक्ष पद्मरत्न तुलाधर, उपाध्यक्ष दुर्गालाल श्रेष्ठ, सचिव मल्ल के. सुन्दर र कोषाध्यक्ष काजिलाल श्रेष्ठको नाममा जग्गा दर्ता गरिएको थियो । मंगलबार काठमाडौं कलंकीस्थित मालपोत कार्यालय पुगी दुर्गालाल श्रेष्ठ, मल्ल के. सुन्दर, दिवंगत पद्मरत्न तुलाधरकी जहान निलशोभा तुलाधर र दिवंगत काजिलाल श्रेष्ठका छोरा प्रवीणलाल श्रेष्ठले सहर्ष सो जग्गा नेपालभाषा मंकाः खलःको नाममा पास गरेका थिए । जग्गा पासको लागि मंकाः खलःका वर्तमान पदाधिकारीहरु, सहयोगी समुहसहित संघीय सांसद कृष्णगोपाल श्रेष्ठ पनि मालपोत कार्यालय उपस्थित भएका थिए । जग्गा पासको लागि आवश्यक करिब ४० लाख बराबरको रकम नेपाल सरकारबाट अनुदानस्वरुप प्राप्त भएको हो । एक वर्षअघिमात्र जनकवि दुर्गालाल श्रेष्ठको अध्यक्षतामा नेपालभाषा मंकाः खलः विधिवत रुपमा दर्ता भएको थियो । संस्था दर्ता पछि सो जग्गामा मंकाः खलःको भवन निर्माणको कार्य सुरु भइसकेको छ । भवन निर्माणको लागि काठमाडौं महानगरपालिकाबाट ५ करोडको बजेट व्यवस्था भएको छ भने महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले भवनको शिलान्यास समेत गरिसकेका छन् । अब दुई वर्षभित्र भवन ििनर्माण सम्पन्न गरी मेयर शाक्यबाटै उद्घाटन गर्ने लक्ष्य लिइएको छ । नेपालभाषा मंकाः खलःको भवनमा वृहत् हललगायत विभिन्न कार्यालय र पार्किङको लागि समेत ठाउँ रहनेछ ।
Categorized in उपत्यका