STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपालको वायुमण्डलमा आज केही सुधार

Janjati Khabar – Janjati Khabar | २०७७ चैत्र १८, बुधबार

काठमाडाैं - नेपालको वायुमण्डलमा आज केही सुधार देखिएको छ । यसले गर्दा काठमाण्डौ उपत्यकासहित केही ठाउँमा ‘भिजिबिलिटी’ बढ्ने मौसमविद्ले बताएका छन् ।

भिजिबिलिटी बढेसँगै हवाई उडान–अवतरणमा सहज हुनेछ । तर, वायुमण्डलमा आज केही सुधार देखिए पनि भोलि फेरि पुरानै अवस्थामा फर्किने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताए ।

‘आज केही सुधार देखिएको छ तर, भारतको दिल्लीबाट धुलो मिसिएको हावा नेपाल प्रवेश गरेको छ’, मौसमविद् श्रेष्ठले भने, ‘यसको असर पश्चिमी र पूर्वी क्षेत्रमा देखिन थालिसकेको छ । भोलि फेरि देशभर तुवाँलो बढ्ने सम्भावना रहेको छ ।’

मौसमविद् श्रेष्ठले अहिले पूर्वमा इलाम र पश्चिममा रौतहटसम्म नै तुवाँलो बढेको बताएका छन् । बिस्तारै यो तुवाँलो देशका अरु ठाउँमा पनि सर्दै जाने र यसको असर भोलि देखिने उनको भनाइ छ । उनका अनुसार भोलि फेरि वायुमण्डल स्थिर रहने अनुमान छ । जमिन भिज्ने गरी पानी परे वा हावा चले प्रदूषण हट्ने भए पनि आज, भोलि र पर्सि हावा चल्ने र पानी पर्ने सम्भावना छैन ।

तल्लो वायुमण्डल र जमिनको सतह नजिक फेरि धुलोसहित प्रदूषण थुप्रिने सम्भावना तीन दिनसम्म रहेको उनले बताए । तीन दिनपछि भने केही सुधार हुन सक्ने अनुमान गरिए पनि ढुक्क हुने अवस्था भने नरहने उनको भनाइ छ ।

‘तुवाँलो हट्दैन भन्ने त होइन, तर यो हट्न समय भने लाग्छ’, उनले भने, ‘केही दिन पछि पश्चिमी वायुको प्रभाव नेपालमा पर्ने सम्भावना देखिन्छ । पश्चिमी वायुको प्रभाव परेपछि मौसममा सुधार आउँछ ।’

यसैबीच, आज प्रदेश १, वाग्मती र गण्डकी तथा लुम्बिनी प्रदेशका केही ठाउँमा फाट्टफुट्ट पानी पर्ने सम्भावना छ । दिउँसो पछि यी क्षेत्रमा मेघ गर्जनसहित चट्याङ पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Categorized in स्वास्थ्य-मौसम