STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेकपा सचिवालय बैठक स्थगित

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २३, बिहिबार

नेपाल कम्युनिष्ट पार्टी नेकपाको आज बस्ने भनिएको सचिवालय बैठक स्थगन भएको छ ।   प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकका लागि गृहकार्य नपुगेकाले स्थगन गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । 
  बैठकका लागि बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका शीर्ष नेता पुगे पनि एकछिन बसेर बैठक स्थगन गरियो । ‘‘दुवै अध्यक्षद्वयले केन्द्रीय सदस्यको कार्यविभाजन तथा जिल्ला कमिटीका इञ्चार्ज र सहइञ्चार्ज तोक्नेबारे अझै गृहकार्य  पुगेन भन्नुभयो’’, उहाँले भन्नुभयो, ‘‘ त्यसैले आज सबै सचिवालयका सदस्य जम्मा भए पनि एकछिन बसेर बैठक स्थगन गरियो ।’’
अर्को बैठक युरोप भ्रमणपछि
उहाँका अनुसार प्रधानमन्त्री ओलीको युरोप भ्रमण सकेर आएपछि मात्र सचिवालय बैठक बस्नेछ ।  प्रधानमन्त्री शनिबारदेखि युरोपको साताव्यापी भ्रमणमा जानुहुने बताइएको छ । 
पार्टीको आज बस्ने सचिवालय बैठकले केन्द्रीय सदस्यको कार्य विभाजन तथा  जिल्ला कमिटीको इञ्चार्ज र सहइञ्चार्ज टुङ्गो लगाउने तयारी गरेको थियो ।  केन्द्रीय सदस्यको कार्य विभाजन र जिल्ला इञ्चार्ज तथा सहइञ्चार्ज तोक्ने विषयमा मङ्गलबारदेखि नियमित बैठक बस्दै आएको थियो ।  कार्यविभाजन सकाएपछि बाँकी रहेका साङ्गठनिक एकीकरणका अन्य काम र थप कार्यविभाजनका विषयमा समेत प्रवेश गर्ने पार्टीको तयारी  थियो ।
Categorized in राजनीति