Salt Trading
Swasthya Mantralaya
Prabhu Bank Header Bottom

निसङ्कोच भएर खोप लगाउन मेयर शाक्यको आग्रह

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ जेठ २६, बुधबार

काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कोविड विरुद्धको चिनियाँ खोपको पहिलो मात्रा निसङ्कोच भएर लगाउन आग्रह गर्नुभएको छ । मोड्सा डु मोन्ड फ्रान्ससँग वातावरणीय स्वास्थ्य परियोजना सञ्चालनमार्फत काठमाडौँका अनौपचारिक सफाईकर्मी र सहरी समुदायको स्वास्थ्यमा पहुँच बढाउन वडा १९ को सहरी स्वास्थ्य केन्द्रलाई सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रका रुपमा स्तरोन्नति गर्ने सम्बन्धी सम्झौता कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मङ्गलबारबाट काठमाडौँ महानगर क्षेत्रका ३२ स्थानमा ६० देखि ६४ बर्ष उमेरसमूहका नागरिकलाई सुरु गरेको खोप अभियानमा लक्ष्य अनुरुपको सहभागिता नभएको भन्दै उहाँले काठमाडौँमा स्थायी बसोबास गरेका र काम विशेषले काठमाडौँमा बसोबास गर्दै आएका ६० देखि ६४ बर्ष उमेरसमूहका एक लाख नागरिकलाई यो चरणको खोप अभियानमा सहभागी गराउने लक्ष्य रहेको बनाउनु भयो । तर, हिजो र आजको अवस्थालाई हेर्दा लक्ष्य अनुसारको सहभागिता नदेखिएको हो कि भन्ने लागेको र सो समूहका नगरिकलाई पायक पर्ने ठाउँमा पुगेर खोप अभियानमा सहभागी हुन पनि उहाँले आग्रह गर्नु भएको छ ।

उहाँले खोप अभियानबारे अझै पनि नागरिकको मन जित्न नसकेका कारण यस्तो भएको हो कि भन्ने आशंका समेत व्यक्त गर्दै पहिलो दिनको सहभागिता लक्ष्य अनुरुप न्युन भएको हो कि भन्ने  लागेको कुरा बताउनु भएको छ । 

उहाँले खोप कार्यक्रममा सहभागी भएका नागरिकले खोप लगाउन बाँकी नागरिकलाई पनि सहभागी हुन आग्रह गर्न सुझाव पनि दिनुभयो ।  

महानगरपालिका मेयर शाक्यको उपस्थितिमा काठमाडौँ महानगरपालिका र फ्रान्सको मेड्सा डु मोन्डबिच भएको सम्झौता महानगरकापालिकातर्फबाट वडा १९ का अध्यक्ष शशीलाल श्रेष्ठ र मेड्सकातर्फबाट नेपालका लागि देशीय प्रतिनिधि डा. गियोम फेबोलले हस्ताक्षर गर्नुभएको थियो । एक अर्काको आचारसंहिता, पारदर्शिता तथा ववाफदेहिता, गोपनीयता, सञ्चार, सहभागितामुलक निर्णयमा समानता, मानवीय कार्य, स्वतन्त्रता र तटस्थताका सिद्धान्तको सम्मान र पालना गर्ने गरी सम्झौता भएको हो ।

सम्झौता बमोजिम काठमाडौँ महानगरपालिकाले १ करोड ५ लाख ४० हजार रुपैयाँ व्यहार्नेछ भने परियोजना सञ्चालन गर्न समन्वय समिति र रणनीतिक र व्यवस्थापन समिति गठन गरिनेछन् । सम्झौता बमोजिमको स्वास्थ्य प्रवर्द्धन केन्द्र वडा १९ मा स्थापना भए पनि अन्य वडा र नुवाकोटको ल्याण्डफिल साइट क्षेत्रमा रहेको स्वास्थ्य चौकीबाट समेत सेवा दिइनेछ । सम्झौता अवसरमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, स्वास्थ्य विभागका अधिकारी तथा विभागीय प्रमुखहरु सहभागी हुनुहुन्थ्यो ।

Categorized in उपत्यका
Newa Online Adv