
निफमा हरिवंश आचार्य र हलिउड कलाकारको ‘भूठान’ को वर्ल्ड प्रिमियर
Janjati Khabar – विजयरत्न असंबरे | २०८१ माघ २, बुधबार

नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीले आयोजना यर्दै अाएको नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)ले आठौं संस्करणको लाइनअप हालै सार्वजनिक गरेको छ । फेस्टिभलमा ४० देशका ८७ फिल्म स्क्रिनिङ हुने आयोजक ले जनाएको छ । यो महोत्सव आगामी चैत्र ७ गतेदेखि ११ गतेसम्म चार दिनको हुनेछ ।
यसवर्ष ७० देशका ७०० फिल्मको आवेदन प्राप्त भएकोमा सार्वजनिक लाइनअपअनुसार वर्ल्ड पानोरमा विधा (अन्तर्राष्ट्रिय प्रतिस्पर्धा)मा नेपालको ‘शाम्बाला’, भारतको ‘रुक्मिणी’, चीनको ‘स्ट्रेन्जर्स ह्वेन वी मिट’सहित १२ फिल्म मनोनयनमा परेको कुरा आयोजक संस्थाका के पि पाठकले बताएका छन् । यस महोत्सवमा नेपालको तर्फबाट " भुठान" पनि प्रतिस्पर्धा मा सहभागी हुने भएको छ । ‘बुलबुल’ फेम्ड विनोद पौडेलको यस फिल्ममा हरिवंश आचार्यसहित दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द, ऋचा घिमिरे, जोएस पाण्डे, ,अदिती प्याकुरेल, टम क्रेन, विमल सुवेदी र हलिउड अभिनेता ब्रुस डर्नको पनि अभिनय रहेको छ ।
अन्तर्राष्ट्रिय डकुमेन्ट्री विधाको प्रतिस्पर्धामा नेपालको ‘हिमालयन ड्रिम्स’सहित अमेरिका, भारत, बंगलादेश, बेल्जियम, चिली, न्यूजिल्याण्डका ९ फिल्म छनोटमा परेका छन् ।
छोटो फिल्मको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको विधामा ३२ फिल्म छन् । यो विधामा मलेसियाको ‘चाइना बिस्ट’, अस्ट्रेलियाको ‘ड्रिम लिंक’, चीनको ‘अ इयर अपार्ट’ लगायत छन् ।
पहिलोपटक निफले आर्टिफिसियल इन्टिलिजेन्सको मद्दतमा बनाइएका फिल्मको प्रतिस्पर्धात्मक विधा समेत समावेश गरेको छ । ‘एआई फिल्म्स’ नाम दिइएको यो विधामा चीनको ‘एभ्री हेजिसटेसन अफ योर्स क्यान डिस्ट्रोय द वर्ल्ड’, अर्जेन्टिनाको ‘द एबिस’, फ्रान्सको ‘गोल्ड कास्टिङ’, पेरुको ‘द ड्रिम, द फग एन्ड द रेन’ र अमेरिकाको ‘मब पार्ट १’ छन् ।
पहिलोपटक नेपाली फिल्म फेस्टिभलमा कृत्रिम बौद्धिकता भनिने एआईले बनाएका ५ फिल्मले प्रतिस्पर्धा गर्न लागेका हुन् । अध्यक्ष पाठकले फिल्म निर्माणमा बढ्दो एआईको प्रभुत्व र विकासलाई यो विधाले सम्बोधन गर्ने बताए ।
नेपाली कथानक फिल्मको प्रतिस्पर्धा नेसनल पानोरमामा ४ फिल्म छनोट मा परेका छन् । जसमा जोन योञ्जनको ‘क्रलिङ क्रोज’, दिनेश राउतको ‘पूजार सार्की’, विनोद पौडेलको ‘भूठान’ र लक्ष्मण सुवेदीको ‘सतीदेवी’ छन् । ‘भूठान’को अंगेजी नाम ‘द वर्ल्ड्स ह्याप्पिएस्ट म्यान’ राखिएको छ । यो फिल्म नेपालका हलमा भन्दा निफमा पहिल्यै स्क्रिनिङ हुन लागेको हो । हलमा भने बैशाख १२ गते प्रदर्शन हुने जनाइएको छ ।
नेपाली डकुमेन्ट्रीको प्रतिस्पर्धा विधामा सुविना श्रेष्ठको ‘देवी’, रजिला श्रेष्ठको ‘छेसाङ’, गौरव आयरको ‘मुक्ति’, तासी लाजोमको ‘नो मोनास्ट्री नो भिलेज’, दीपा श्रेष्ठको ‘उड्ने सपना’ र लव प्याकुरेलको ‘गर्ल्स रिराइटिङ डेस्टिनी’ छन् ।
नेपाली छोटा फिल्मको प्रतिस्पर्धामा १९ फिल्म छनोट भएका छन् । नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल चैत ७ देखि ११ सम्म काठमाडौंमा आयोजना हुनेछ । ओपनिङ र क्लोजिङ फिल्म तय हुन बाँकी छ ।
Categorized in सिनेमा