STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

निफको सातौँ संस्करणमा ४० देशका ८८ फिल्म देखाइने

Janjati Khabar – विजयरत्न असंबरे | २०८० माघ २, मंगलबार

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा वर्षेनी हुँदै आएको ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ)को सातौं संस्करण आगामी चैत्र १ देखि ५ गतेसम्म हुने भएको छ । 

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच महोत्सवको घोषणा गरिए अनुसार महोत्सवमा यो वर्षपनि अघिल्ला वर्षझैँ विश्वका विभिन्न कुनामा बनेका उत्कृष्ट फिल्म देखाइने भएको छ ।  महोत्सवमा समसामयिक विषयमा स्वदेशी तथा विदेशी चलचित्रकर्मीका रोचक र अर्थपूर्ण छलफलका सत्र पनि रहनेछ ।

यसवर्ष महोत्सवका लागि ६० देशबाट ५०० भन्दा बढी संख्यामा चलचित्र प्राप्त भएकोमा आयोजकले यो संस्करणमा ४० देशका ८८ वटा फिल्म छानेको छ । छनौटमा परेका थुप्रै फिल्महरु कान्स, लोकार्नो, बर्लिनाल आदि प्रतिष्ठित फेस्टिभलमा पनि प्रदर्शन भइसकेका छन् । फेस्टिभललाई राष्ट्रिय र अन्तर्राष्ट्रिय दुई भागमा विभाजन गरी दुवै भागमा फिचर चलचित्र, लघु फिल्म र वृत्तचित्र विधामा अवार्ड वितरण गरिनेछ ।

प्रतिस्पर्धामा रहेका फिल्मको प्रदर्शनसँगै यस वर्ष पनि महोत्सव अवधिभर फिल्म निर्माणका विभिन्न विधासँग सम्बन्धित रहेर कार्यशाला, छलफल र अन्तरक्रियाका कार्यक्रम पनि आयोजना गरिने भएकोछ । यस्ता छलफलले नेपाली चलचित्रको बौद्धिक विकासमा महत्त्वपूर्ण योगदान हुनेछ ।

यो वर्षपनि महोत्सवमा प्रदर्शन हुने चलचित्र क्युएफएक्स सिनेमा अन्तर्गतका सिभिल मल, लबिम मल, भक्तपुर र छायाँ सेन्टरका हलमा प्रदर्शन हुनेछन् । यसका लागि क्युएफएक्स सिनेमाघरसँग सहकार्य भएको छ ।

मोफसलमा पहिलो संस्करण सम्पन्न गरेको निफले यो सालबाट एकै समयमा अन्य प्रदेशहरुमा पनि महोत्सवलाई विस्तार गर्ने तयारी गरिरहेको छ । प्रदेशमा हुने फेस्टिभलमा भने महोत्सवमा विजेता बनेकासँगै दर्शकको रुचिमा परेका फिचर फिल्म प्रदर्शन गरिनेछन् । महोत्सव हुने प्रदेशको मिति र स्थान केही समयपछि सार्वजनिक गरिनेछ ।

महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकि डलर राशि सहित गौतमबुद्ध अवार्ड प्रदान गरिनेछ । त्यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिचर फिल्महरुबाट एउटालाई ’चलचित्र समाजहरुको अन्तर्राष्ट्रिय महासंघ, आइएफएफएस डन अवार्ड प्रदान गरिनेछ ।

महोत्सवमा सर्वोत्कृष्ट वृत्तचित्रलाई एक हजार डलर राशिको माउण्ट एभरेष्ट अवार्ड, र सर्वोत्कृष्ट लघु चलचित्रलाई ५ सय राशिको बागमती अवार्ड प्रदान गरिनेछ । यसैगरी नेपाली प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई १ लाख नगद र ट्रफी, उत्कृष्ट सर्ट फिल्म र उत्कृष्ट वृत्तचित्रलाई ५० हजार नगद र ट्रफी प्रदान गरिनेछ ।

सर्ट फिल्ममध्येबाट उत्कृष्ट निर्देशकलाई ट्रफी प्रदान गरिनेछ भने फिचर फिल्म तर्फका उत्कृष्ट निर्देशक, लेखक, छायांकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिने महोत्सव आयोजक संस्थाका चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले जानकारी दिएका छन् ।

Categorized in सिनेमा