STC 810x100 adv
Swasthya Mantralaya

नारीलाई सम्मान गर्ने चलन स्वरुप १०८ कन्यापूजा

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ मङ्सिर ७, मंगलबार

काठमाडौंको बसन्तपुरमा  सोमबार नारीलाई सम्मान गर्ने चलन स्वरुप १०८ कन्यापूजाको आयोजना गरिएको छ । महिला सशक्तिकरणको क्षेत्रमा काम गर्दै आएको ईनर ह्वील क्लब अफ कीर्तिपुर, टोखा, महालक्ष्मी र ईनर ह्वील क्लब अफ कीर्तिपुर मिलेनियल्सले संयुक्त रुपमा कन्यापूजाको आयोजना गरेको हो ।

‘कन्यालाई नेपाली समाजमा कुमारी र तुलजा भवानीको रुपमा पूज्ने चलन छ । त्यसैले पनि नारीलाई सम्मान भावले पूजा गर्ने हाम्रो चलनलाई अन्तर्राष्ट्रिय रुपमा प्रचार गर्न कन्यापूजाको आयोजना गरेका छौं ।’ ईनर ह्वील क्लब अफ कीर्तिपुरकी प्रेसिडेन्ट सुशीला मानन्धरले जनाए । 

वैदिक मान्यतामा आधारित काठमाडौंको कुमारीपूजा जय प्रकाश मल्लको पालादेखि सुरु भएको विश्वास गरिन्छ । मध्यकालीन नेपालका अन्तिम मल्ल राजालाई सपनामा कुमारीले दर्शनभेट दिएको आधारले नारी सम्मानको लागि कुमारी प्रथाको सुरुवात गरेको बताइन्छ ।

हिन्दुधर्मका अध्येता सुशील राजोपाध्याय का अनुसार पञ्चकन्यालाई हिन्दु धर्मावलम्बीहरुले अहिल्या, द्रोपदी, कुन्ती, तारा र मन्दोदरीको रुपमा स्वीकार गरिएको छ ।  रजश्वला हुनुपूर्वका कुमारी केटी अर्थात कन्याहरुलाई १०८ संख्या बनाएर पूजा गर्नुको अर्थ संख्यामा पूर्णता दिइएको राजोपाध्यायको दाबी छ । उच्च सम्मान र आदरार्थीभाव जनाउने गुरुहरुको विशेषणमा श्रीश्रीश्री १०८ लेख्ने चलन र रुद्राक्ष मालाको संख्या पनि उहि बनाउनुको अर्थ संख्यालाई पूर्णता दिइएको उहाँको तर्क हो । 

पूजामा सहभागी भएका सम्पूर्ण कन्याहरुलाई सबभन्दा पहिले जिवित देवी का रुपमा रहेका आराध्य देवी कुमारी माजु, गणेश र भैरवबाट टीका र प्रसाद प्रदान गरिएको थियो भने कार्यक्रममा सहभागी महानुभावहरुले कन्याहरुलाई आआफ्नो इच्छा बमोजिम उपहार हस्तान्तरण गरेका थिए । 

ईनर ह्वील अन्तर्राष्ट्रिय सामाजिक संस्था हो । नारीहरुको क्षमता अभिवृद्धि गरी उत्थान गर्ने उद्देश्यले स्थापित ईनर ह्वीलले नेपालमा मात्र बत्तीस वटा संस्थाहरु बनाइसकेको छ । राजधानीस्थित ईनर ह्वील कीर्तिपुरको अभिभावकत्वमा अन्य तीन संस्थाहरु सक्रिय छन् । संस्थाले यसअघि पनि नारीहरुको लागि थुप्रै सामाजिक कामहरु गरिसकेको छ । सुख, शान्तिको कामना गरी अनिष्ट हुनबाट बचाउन आयोजना गरिएको कन्यापूजामा सामुदायिक र संस्थागत स्कुल, बालगृहका घरबारबिहीन तथा अनाथ नानीहरुको सहभागिता थियो ।

Categorized in उपत्यका
kmc sujib