STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नागरिकता विधेयक आजै पारित गर्ने तयारी

Janjati Khabar – Janjati Khabar | २०७९ भाद्र २, बिहिबार

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता गरेकाे नेपाल नागरिकता ऐन संशोधन विधेयक आजै पारित गर्ने तयारी भएकाे छ।गठबन्धनको निर्णय र सरकारको आग्रहअनुसार प्रतिनिधि सभामा गृहमन्त्री खाणले सन्देशसहित फिर्ता आएको विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन्।

यस पटक पनि विधेयक समितिमा नपठाई सदनबाटै पारित गर्न लागिएको हो।  यसअघि पनि नागरिकता विधेयकको प्रक्रिया ‘फास्ट ट्र्याक’मै अघि बढेको थियो। विधेयक दफावार छलफल समितिमा नपठाई सदनमै भएको थियो।

सत्ता गठबन्धनमा आबद्ध दलहरूले विधेयक पुनर्विचारका लागि पठाए पनि जस्ताको तस्तै अघि बढाउने समझदारी गरेको थियो। राष्ट्रपतिले साउन २९ गते सन्देशसहितको विधेयक प्रतिनिधि सभामा फिर्ता गरेकी थिइन्।  

राष्ट्रपतिले विधेयकमा संविधान अनुकूलका धेरै विषय छुटेकोमा प्रश्न गरेकी थिइन्। वैवाहिक अङ्गीकृत नागरिकताको सवाल अहिलेकै अभ्यास उपयुक्त भएमा साझा धारणा बनाउन तथा अन्य मुलुकको अनुसार परिमार्जन आवश्यक भएमा परिमार्जन गर्न ध्यानाकर्षण गराइएको छ।

लैङ्गिक समानताका दृष्टिले पनि विधेयकमा सुधारका ठाउँ रहेको सन्देशमा उल्लेख छ। आमाको नामबाट नागरिकता लिने व्यवस्थामा संविधानअनुसार थप विषय समेट्न सकिने पनि सन्देशमा सुझाइएको छ। नागरिकता कानुन तर्जुमामा एकल मातृत्वको विषयलाई पनि ध्यान दिइनुपर्ने राष्ट्रपतिको सुझाव छ। प्रजनन र मातृत्वलाई आमाको मौलिक हक मानेपछि नागरिकताका लागि खोजी गरिने बाबुको स्वघोषणा संविधानसँग अनुकूल नहुने भएकाले पुनर्विचार गर्न सन्देशमा सुझाइएको छ।

संसद्ले विधेयकलाई यथास्थितिमा वा परिमार्जन गरेर पठाउन सक्ने सुविधा छ। प्रतिनिधि सभाको प्रक्रिया पूरा भएपछि विधेयक राष्ट्रिय सभामा जानेछ। दुवै सदनबाट पारित विधेयक प्रमाणीकरणका लागि पेस भएको १५ दिन प्रमाणीकरण हुनुपर्ने संवैधानिक व्यवस्था छ।

Categorized in राजनीति