नागपञ्चमी मनाइयो
Janjati Khabar – Janjati Khabar | २०८० भाद्र ४, सोमबार
काठमाडौँ - आज नागपञ्चमी मनाइएको छ । घरका ढोकामाथि नागको तस्बिर टाँसेर र नाग पूजा गरी नागपञ्चमी मनाइएको हो ।
साथै नागको मन्दिर वा पोखरीमा पूजा गरेर पनि नागपञ्चमी मनाइएको छ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाउने गरिन्छ ।
सो अवसरमा आज सोमवार काठमाडौंको नक्सालमा अवस्थित नागपोखरीमा नागको पूजा गर्ने भक्तजनहरुको भीड लागेको छ । साथै देशभर अन्य नाग स्थानहरुमा पनि नागको पूजा गर्न भक्तजनहरु जम्मा भएका छन् । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यस वर्ष साउनमा अधिकमास परेका कारण यसपटक भदौमा यो पर्व परेको हो ।
यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने, साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ । घरमा नाग, सर्प आदिले दुःख नदिओस् भनेर नाग पूजा गरिने गरिएको बताइन्छ ।
नाग पूजाको प्रचलन वैदिककालदेखि नै शुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा रहेको बराहपुराणमा उल्लेख छ ।
Categorized in राष्ट्रिय

