STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नरोत्तम वैद्यमाथि हत्या दुरुत्साहन मुद्दा दर्ता, कांग्रेसको आपत्ति

Janjati Khabar – Janjati Khabar | २०७८ जेठ ३१, सोमबार

बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले प्रदेशसभामा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति दिएको अभिव्यक्तिका कारण हत्या दुरुत्साहनको मुद्दा चलाइएको छ । यसमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले आपत्ति जनाएको छ ।

नेपाली कांग्रेसका प्रदेशसभा सदस्य नरोतम वैद्यले बागमती प्रदेशको २०७८/७९ को नीति तथा कार्यक्रमको छलफलका क्रममा २८ जेठको बैठकमा प्रधानमन्त्री ओलीप्रति आफू नाथुराम गोड्से बन्न तयार रहेको आपत्तिजनक शब्द प्रयोग गरेका थिए । सो अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि भोलिपल्ट २९ जेठमा वैद्यले संसदबाटै आफ्नो अभिव्यक्ति फिर्ता लिँदै संसदको रेकर्डबाट हटाउन अनुरोध गरेका थिए ।

वैद्यको उक्त अभिव्यक्तिले हत्या दुरुत्साहन गरको भन्दै नेकपा (एमाले) मकवानपुरको भ्रातृ संगठन युवा संघ नेपालका एक नेताले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा मुद्दा दायर गरेका थिए ।

कांग्रेस बागमती प्रदेश संसदीय दलले सोमबार पत्रकार सम्मेलन गर्दै प्रदेशसभा सदस्य वैद्यको अभिव्यक्ति नेपाली कांग्रेसको आदर्श, नीति, संसदीय अभ्यास र गरिमा विपरीत भएकाले फिर्ता लिन निर्देशन गरेको र लगत्तै फिर्ता लिइसकेपछि उक्त विषय टुंगिइसकेको भन्दै सरकारको दबाब र प्रभाव तथा राजनीतिक प्रतिशोधका आधारमा मुद्दा दायर भएको जनाएको छ ।

संविधानले दिएको प्रदेशसभा सदस्यको अभिव्यक्ति स्वतन्त्रता तथा संविधानको बर्खिलाप बदनीयतपूर्ण तवरले मुद्दा दर्ता गरिएकाले मुद्दा फिर्ता लिन पनि नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले आग्रह गरेको छ । कांग्रेस बागमती प्रदेशसभा संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले अभिव्यक्ति फिर्ता लिइसकेको र संसदको रेकर्डबाट समेत हटाइसकिएको अवस्थामा मुद्दा दर्ता भएकोप्रति आपत्ति जनाए  ।

कांग्रेसले नरोत्तम वैद्यमाथि मुद्दा चलाउनु गैरसंवैधानिक कार्य भन्दै संविधानको बर्खिलापमा जान प्रहरी, अनुसन्धान अधिकारी र सरकारको कुनै पनि निकायलाई अधिकार नभएको बताएको छ । मुद्दा तत्काल फिर्ता लिन आग्रहसमेत गरेको छ । अन्यथा प्रदेशसभामार्फत नै सशक्त प्रतिवादमा उत्रिने कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले जनाएको छ ।

Categorized in राजनीति