STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नयाँ सीमा स्तम्भ निर्माणमा समस्या

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १७, शुक्रबार

नेपाल–भारत सीमा क्षेत्र कैलालीको खक्रौला, फूलबारी र कञ्चनपुरको पुनर्वास क्षेत्रमा स्थानीयवासीको विरोधका कारण नयाँ सीमा स्तम्भ निर्माणमा समस्या सिर्जना भएको छ । खक्रौलामा नयाँ स्तम्भ निर्माण गर्नका लागि गरिएको सर्भेक्षणका क्रममा साबिक ठाउँमा रहेको स्तम्भभन्दा करीब डेढ मिटर दक्षिण पश्चिममा निर्माण गर्नुपर्ने देखिएको भए पनि स्थानीयवासीको विरोधका कारण नयाँ स्तम्भ निर्माण हुन नसकेको नेपाल–भारत सीमा सर्वेक्षण टोली नं ४ का प्रमुख नापी अधिकृत जनकराज भट्टले बताउनुभयो । सीमा स्तम्भ नं ७४२ रहेको कैलालीको फूलबारी क्षेत्रमा नयाँ निर्माण गर्नुपर्ने स्तम्भका विषयमा पनि विवाद भएको छ । सो क्षेत्रमा पश्चिमबाट पूर्वतर्फ बग्ने मोहना नदीले बेलाबखत आफ्नो धार परिवर्तन गर्ने गरेको छ । फूलबारीको सीमा क्षेत्रमा स्थानीयवासीले सामुदायिक वनको विकास गरेका छन् । “सर्भे नक्साअनुसार जहाँ स्तम्भ पर्ने हो त्यहाँ देखाइएको थियो”, प्रमुख नापी अधिकृत भट्टले भन्नुभयो, “तर स्थानीयवासीले पिलर दक्षिणतर्फ भारतीय भूमिमा पर्ने भन्दै टोलीले देखाएको ठाउँमा बनाउन दिएनन् ।” यता कञ्चनपुरको पुनर्वास क्षेत्रको सीमा स्तम्भ नं ७६२ मा नेपालीले भोगचलन गरेको जग्गामा स्तम्भ निर्माण गर्ने तयारी भएपछि भएको विवादले उक्त ठाउँमा पनि नयाँ स्तम्भ निर्माण हुन सकेको छैन । सीमा क्षेत्रका स्थानीयवासीबाट बाधा अवरोध आएको अवस्थामा सो क्षेत्रमा समाधान ननिस्केसम्मका लागि काम अघि नबढाउन ‘म्याण्डेड’ संयुक्त नापी टोलीलाई दिइएको छ । “पिलर जहाँ बने पनि जुन देशका नागरिकको भोगचलनमा जग्गा छ, तत्कालको अवस्थामा उसैलाई भोगचलन गर्न दिने म्याण्डेड पनि टोलीलाई छ”, भट्टले भन्नुभयो, “नक्सा र तथ्यले जे बोल्छ त्यो देखिइने हो, कुन भूमि कता प¥यो भनेर टोलीलाई त्यति चासो हँुदैन ।” विवादित क्षेत्रमा दुवै देशको समझदारीमा आगामी दिनमा सीमासम्बन्धी विवाद समाधान खोजिने बताइएको छ । पाँच वर्ष काम गर्ने अवधि तोकिएको संयुक्त टोलीले कैलाली र कञ्चनपुर जिल्लाको नेपाल–भारत सीमा क्षेत्रमा गएको दुई वर्षमा ७७ वटा नयाँ सीमा स्तम्भ निर्माण गरिसकेको छ । यस्तै १८० वटा सीमा स्तम्भको मर्मतसम्भार कार्य सम्पन्न गरेको छ । कैलालीको नेपाल–भारत सीमा क्षेत्रमा मुख्य र सहायक गरी १३३ वटा सीमा स्तम्भ हराएको वा पहिलेदेखि नरहेको अवस्था रहेको बताइएको छ । यो क्षेत्रमा मुख्य ५३ र सहायक २२९ गरी कूल २८२ सीमा स्तम्भ रहेका छन् । सीमाको सर्वेक्षण कार्य गर्नुअघि गरिएको निरिक्षणका क्रममा मुख्य ११, सहायक ६२ स्तम्भको पुनर्निर्माण गर्नुपर्ने, मुख्य १३ र सहायक ५५ वटा स्तम्भ नदी क्षेत्रमा देखिएको, मुख्य २९ र सहायक ११२ सीमा स्तम्भको सामान्य मर्मत गर्नुपर्ने देखिएको थियो । बिहीबार यहाँ बसेको बैठकमा नेपाल–भारतको संयुक्त सीमा सर्वेक्षण टोलीले तयार पारेको अतिक्रमण गरिएको सीमा क्षेत्रको नक्सा र कार्यप्रगतिसम्बन्धी कागजात कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा र भारत लखिमपुर खिरीका डिस्ट्रिक मजिष्टे«ड शैलेन्द्रकुमार सिंहले संयुक्त रुपमा प्रमाणीकरण गर्नुभयो । सर्वेक्षण टोलीले कैलालीको खक्रौलास्थित सीमा स्तम्भ नं ७०० देखि कञ्चनपुरको ब्रह्मदेव बजार नजीकको सीमा स्तम्भ नं ८१३ सम्मको सीमामा काम गरिरहेको छ ।
Categorized in राष्ट्रिय