STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नयाँ सत्ता समिकरणको गृहकार्य सुरु

Janjati Khabar – Janjati Khabar | २०८० फाल्गुण २०, आइतबार

काठमाडौं– सत्ता गठबन्धनमा खटपट बढेपछि नेताहरूको तीव्र दौडधुप बढेको छ। राष्ट्रिय सभा अध्यक्षको निर्वाचनअघि सत्ता समीकरण चर्चा हुनसक्ने चर्चाका बिच राजनीतिक गतिविधि ह्वात्तै बढेको छ। 

नेकपा एमालेका अध्यक्ष केपी ओली, रास्वपाका सभापति रवि लामिछाने लगायतका नेताहरू बालुवाटार पुगेका छन्।

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफलका लागि उनीहरू छुट्टाछुट्टै बालुवाटार पुगेका हुन्। बालुवाटार स्रोतले आइतबार साँझ प्रचण्डसँग ओली र लामिछोनेबीच छलफल भएको पुष्टि गर्‍यो।

आजै एमाले, माओवादी र कांग्रेसले आन्तरिक छलफल पनि गरेका छन् भने कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीसँगसमेत छलफल गरेका छन् ।

देउवाले मन्त्रीहरूसँग गरे छलफल

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो दलका सबै मन्त्रीलाई बूढानीलकण्ठ बोलाएर छलफल गरेका छन्।

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्‍बाट अघि बढाउने तयारी भइरहेका बेला देउवाले १० जना मन्त्रीलाई आइतबार साँझ बूढानीलकण्ठ बोलाएका हुन्। पछिल्लो समय सत्ता गठबन्धनमा केही खटपट पनि देखिएको छ। अर्कातिर फागुन २९ गते राष्ट्रिय सभाका अध्यक्षको निर्वाचन पनि हुँदैछ।

राष्ट्रिय सभाको अध्यक्ष पद कसले लिने भन्नेमा अझै पनि कांग्रेस र नेकपा माओवादी केन्द्रबीच सहमति बनिसकेको छैन। यिनै राजनीतिक घटनाक्रमबीच देउवाले सबै मन्त्रीहरूसँग संवाद गरेका हुन्। यहीबीचमा परराष्ट्रमन्त्री एनपी साउदको फिनल्याण्ड भ्रमण एकाएक रद्द भएको छ। ‘विशेष परिस्थिति’ भन्दै परराष्ट्र मन्त्रालयले भ्रमण स्थगित भएको जनाएको छ। 

मन्त्रीहरूसँगको छलफलपछि देउवाले सोमबार बिहान १० बजे बस्ने गरी संसदीय दलको बैठक पनि बोलाएका छन्। उक्त बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे छलफल हुने बताइएको छ। गत माघ ११ गते भएको राष्ट्रिय सभाको निर्वाचनबाट विजयी राष्ट्रिय सभाका सदस्यहरूको शपथ पनि सोमबार नै हुँदैछ।

सोमबार सत्ता गठबन्धनको बैठक

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनको बैठक बोलाएका छन्। 

प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बिहान ८ बजे गठबन्धनको बैठक राखिएको बालुवाटार स्रोतले जानकारी दियो। राष्ट्रिय सभा अध्यक्षको निर्वाचन, विवादमा परेका मन्त्रीमाथि कारबाही लगायत विषयमा छलफल गर्न प्रचण्डले गठबन्धन बैठक बोलाएका हुन्।

राष्ट्रिय सभा अध्यक्षको विषयलाई लिएर सत्ता गठबन्धनमा चिसोपना आइरहेको बेला प्रचण्डले गठबन्धन बैठक बोलाएका हुन्। 

फागुन २९ गते हुने राष्ट्रिय सभा अध्यक्ष निर्वाचनमा लागि अहिलेसम्म गठबन्धनले साझा उम्मेदवार तय गर्न सकेको छैन। राष्ट्रिय सभा अध्यक्षमा सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्र र कांग्रेस दुवैले दाबी गरेका छन्। 

राष्ट्रिय सभा अध्यक्षमा माओवादीले उम्मेदवार उठाए समर्थन गर्ने एमालेले आश्वासन दिएको छ। राष्ट्रिय सभा अध्यक्षको चुनाव पेचिलो बन्दै गर्दा गठबन्धन बैठक बस्न लागेको हो। यस्तै विवादमा परेका मन्त्री हटाउने बारे समेत प्रधानमन्त्रीले गठबन्धनमा छलफल गर्न लागेका हुन्। बालकुमारी घटनामा छानबिन आयोगले दोषी देखाएका भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, टेरामक्स घोटालामा अख्तियारले बयान लिएका स्वास्थ्य मन्त्री मोहन बस्नेत र पुरातात्त्विक रामग्रामको जग्गा निजी कम्पनीलाई भाडामा दिने निर्णय गराउने संस्कृति मन्त्री सुदन किरातीको राजीनामा माग्दै संसद्मा प्रधानमन्त्रीको जवाफ माग गर्दै आएको छ। 

यो विषयमा प्रचण्डले सोमबार बिहान ११ बजे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै छन्। त्यसअघि प्रचण्डले गठबन्धनमा छलफल गर्न लागेका हुन्। बालकुमारी घटना सम्बन्धमा छानबिन गर्न गठित आयोगको प्रतिवेदन अध्ययन गरेर कार्यान्वयनको सिफारिस गर्न सरकारले कानुन मन्त्री धनराज गुरुङ र ऊर्जामन्त्री शक्ति बस्नेतलाई जिम्मा लगाएको थियो। मन्त्रीद्वयले प्रतिवेदनबारे प्रधानमन्त्री प्रचण्डलाई ब्रिफिङ गरेका छन्। 

एमालेले प्रकाश ज्वालाको राजीनामालाई बटम लाइन बनाएकोले भोलि प्रचण्डले कुनै निर्णय लिन सक्ने स्रोतले बतायो। बैठकमा सङ्क्रमणकालीन न्याय सम्बन्धी कानूनको विषयमा समेत छलफल हुनेछ। दलहरूबीच सहमति नभएपछि संसदीय समितिले आइतबार यो विषयमा निर्णय गर्न सकेको थिएन।

परराष्ट्रमन्त्रीको फिनल्याण्ड भ्रमण रद्द

परराष्ट्रमन्त्री एनपी साउदको फिनल्याण्ड भ्रमण एकाएक रद्द भएको छ। ‘विशेष परिस्थिति’ भन्दै परराष्ट्र मन्त्रालयले भ्रमण स्थगित भएको जनाएको छ।

‘विशेष परिस्थितिका कारण परराष्ट्रमन्त्री पूर्वनिर्धारित  कार्यक्रमअनुसार हेलसिन्की प्रस्थान गर्न सक्षम हुनुभएन,’ परराष्ट्र मन्त्रालयले एक सूचना मार्फत जानकारी दिएको छ।

परराष्ट्र मन्त्रालयले उनी ‘सेकेन्ड यूएन एलडीसी फ्युचर फोरम’ मा सहभागी हुन फिनल्यान्ड जाने तय भएको भन्दै आइतबार दिउँसो विज्ञप्ति जारी गरेको थियो। उक्त कार्यक्रम मंगलबार र बुधबार फिनल्याण्डको राजधानी हेल्सिन्कीमा हुँदैछ। सत्ता गठबन्धनमा खटपट भएको भनिएकै बेला अकस्मात् उनको भ्रमण रद्द हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। 

कांग्रेस सभापति शेरबहादुर देउवाले आजै पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूसँग छलफल गरेका छन्। त्यस्तै देउवाले सोमबार संसदीय दलको बैठकसमेत बोलाएका छन्।

जुनसुकै बेला टुट्छ गठबन्धन– एमाले उपाध्यक्ष

नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले वर्तमान सत्ता गठबन्धन आफैं भित्रका समस्या र अन्तरविरोधको भुमरीमा फसिरहेको भन्दै कुनै पनि बेला टुट्न सक्ने बताएका छन् ।

आइतबार धनुषामा आयोजित महिला राष्ट्रिय हक्की प्रतियोगिताको समापन समारोहमा सहभागी हुन पुगेका उपाध्यक्ष पौडेलले जनकपुर विमानस्थलमा सत्तागठबन्धन आफ्नै अन्तरविरोधका कारण जुनसुकै बेला टुट्न र फुट्न सक्ने टिप्पणी गरे ।

गठबन्धन भित्रको तमासा आफूहरुले हेरिरहेको भन्दै पौडेलले भने, ‘यो गठबधन आफैं भित्रका समस्या र अन्तरविरोधहरुले चर्मराइरहेको छ,कुनै पनि बेला यो टुट्न सक्छ ,फुट्न सक्छ ।’ तर,उनले गठबधन फुटाउन एमालेले चासो नदिएको जिकिर गरे । 

सत्ता गठबधन फुटिहाले एमालेले काँध थाप्छकि थाप्दैन भन्ने सञ्चारकर्मीको प्रश्नमा पौडेलले भने, ‘के को काँध थाप्नु ? काँध थाप्ने÷नथाप्ने प्रश्नै होइन नि । पहिले गठबन्धन कुनरुपमा अगाडि बढ्छ हेरौं न,’ पौडेलले भने । 

पौडेलले देशको विकासको बाधक नै अहिले गठबधन बनेको टिप्पणी गरे । 

‘यो देशको अग्रगती र प्रगतिको लागि यो गठबन्धन प्रमुख बाधक बनेर उभिएको छ ।’

Categorized in राजनीति