STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नयाँ मानिस देख्दैमा त्रसित हुनुपर्दैन : कीर्तिपुर मेयर

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र २९, शनिबार

ललेन्द्र शाक्य


कीर्तिपुर– चार दिनअघि कीर्तिपुर ३ वडा नाय्टोलमा नुवाकोटबाट आएका तीनजना एउटै घरमा बसिरहेको जानकारी स्थानीयले पाए । यो खबर पाउनेवित्तिकै स्थानीय, ३ वडाका वडाध्यक्ष राजेन्द्र महर्जन र वडासदस्यहरु पुगी उनीहरु बसेको घरमा तालाबन्दी गरिदिए । कीर्तिपुरमा नयाँ मानिस देखिनु र यसले स्थानीयमा त्रास फैलिरहेको विषयमा कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले आफ्ना भनाइ राखेका छन् । मेयर महर्जनले नयाँ मानिस आफ्नो टोलमा आउनेवित्तिकै आत्तिनु र त्रसित नहुन जनसमुदायमा आह्वान गर्दै भने, “विदेशबाट आएकाहरुसँग सतर्क हुनुपर्छ, नेपालभित्रैका विभिन्न क्षेत्रबाट आएका नयाँ अनुहारसँग भने आत्तिनु र त्रसित नहुन आह्वान गर्दछु ।” महर्जनले नयाँ मानिस देखिएमा नआत्तिएर संयमित र सतर्क भई सम्बन्धित वडा, नगरपालिका वा प्रहरी कार्यालयमा जानकारी दिन पनि अनुरोध गरेका छन् । नुवाकोटबाट आएका ती तीनैजना अहिले क्वारेन्टाइनमा बसी स्वास्थ्य परीक्षण गराइरहेका र उनीहरु बसेका घरका अन्य सदस्यहरुको स्वास्थ्य परीक्षण सकिसकेको र उनीहरुको स्थिति सामान्य रहेको जानकारी मेयर महर्जनले दिएका छन् । मेयर महर्जनले कीर्तिपुर नगरभित्र नयाँ मानिस आउनेवित्तिकै त्रासको वातावरण बनाउन विभिन्न भ्रमहरु फलाई नगरबासीलाई त्रासको वातावरण सिर्जना भएको सन्र्दभमा त्यस्ता भ्रामक अफवाह नफैलाउन पनि अनुरोध गरेका छन् । कीर्तिपुर नगरपालिका कोरोना रोकथाममा सक्षम बन्न क्वारेन्टाइन र आइसोलेसन वार्ड तयारी अवस्थामा राखेको जानकारी पनि महर्जनले गराएका छन् । कोरोना भाइरस कोभिड १९ को संक्रमण रोकथामको लागि सरकारले गरेको लकडाउनको समय जनसमुदाय नगरबासी, नगरपालिका र सुरक्षा निकाय तथा संघसंस्थाहरु एकजुट भएर अघि बढ्नुपर्ने आजको आवश्यकता रहेको जनाउँदै मेयर महर्जनले कोठा बहालमा दिने घरधनीहरुले पनि यस कदम सक्रिय रुपमा साथ दिई आफ्नो बहालमा बस्नेकोमा नयाँ मानिस आए तुरुन्तै वडा वा सम्बन्धित निकायमा जानकारी दिन पनि आह्वान गरेका छन् । नाय्टोलमा नुवाकोटबाट तीनजना नयाँ मानिस आउनु, हिलटाउन स्कुलमा दुबईबाट फर्किएका महिला बसेको पाउनु तथा तःननि टोलमा कोहलपुरबाट एक गर्भवती महिला आउनु आदि घटनाले कीर्तिपुरका स्थानीयमा त्रास बढेको थियो । तर उनीहरु सबैको रिपोर्ट सामान्य आएपछि मात्र स्थानीयले राहतको सास लिएका छन् । सरकारले कोरोना भाइरस संक्रमण दोस्रो चरणमा पुगेको घोषणा गरेपछि लकडाउनको समय मानिसहरु एक जिल्लाबाट अर्को जिल्लामा जान रोक लगाएको थियो । यस बावजुद पनि कीर्तिपुरमा बाहिर प्रदेशबाट मानिसहरु आइरहेको विषयमा चर्चा परिचर्चा पाएको थियो । यसमा स्थानीयले सुरक्षा निकायमाथि नै प्रश्न उठाउँदै आएका छन् । तसर्थ सुरक्षा निकाय र सम्बन्धित पक्षले तत्काल आफ्ना कमिकमजोरी सच्चाएर आवश्यक कदम चाल्नुपर्ने स्थिति आएको छ । नभए यसले नकारात्मक घटना घटित गराउन सक्छ ।
Categorized in उपत्यका