STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

धेरै नदी तथा खोलामा बाढी, नारायणीमा चेतावनीको तह पार, गण्डक ब्यारेजका सबै ढोका खोलियो

Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ १, मंगलबार

काठमाडौं - लगातारको वर्षाका कारण देशका धेरै ठाउँका नदी तथा खोलामा बाढी आएको छ । नारायणी, तिनाउ, गण्डकी नदीमा पानीको सतह लगातार बढ्दै गएको छ भने अन्य खोला तथा खोल्सामा पनि बाढी आएको छ ।

नारायणी नदीमा पानीको सतहले चेतावनीको तह पार गरेको छ । नारायणी नदीमा पानीको बहाव ८ मिटरभन्दा माथि पुगेको छ । लगातारको वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले बाढी, डुबान तथा नदी कटान र इच्छाकामना गाउँपालिका लगायत ठाउँमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

वाग्मती, गण्डकी र लुम्बिनीका धेरैजसो ठाउँका नदीमा बाढी आएको छ । यी प्रदेशमा आज राति पनि ठूलो पानी पर्ने पूर्वानुमान गरिएको छ ।

यस्तै लगातारको वर्षाका कारण पहिरो जाँदा धेरै राजमार्ग ठप्प भएका छन् । पानी परिरहेका कारण पहिरो पन्छाउन समस्या भएको छ ।

नारायणी नदीमा पानीको बहाव बढ्न थालेपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ ।

मङ्गलवार नारायणी नदीको देवघाट जल मापन केन्द्रमा नदीले चेतावनीको सतह पार गरेपछि यस क्षेत्रमा हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै गण्डक ब्यारेजका सबै ३६ वटा ढोका खोलिएको नवलपरासी पूर्व नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले जानकारी दिए ।

गण्डक ब्यारेजमा ढोका खोल्ने समयमा दुई लाख क्युसेक पानी मापन गरिएको थियो । सोमवारदेखि परेको लगातारको पानीका कारण नारायणी नदीमा पानीको बहाव बढ्दा यसले पुर्याउने क्षतिलाई ध्यानमा राख्दै भारतीय पक्षसँगको समन्वयमा सबै ढोका खोलिएको पंगेनीले बताए ।

गण्डक ब्यारेजमा दुई लाख पचास हजार क्युसेक पानीलाई चेतावनीको तह र तीन लाख क्युसेक पानीलाई खतराको तह मानिन्छ । पानीको सतहले चेतावनीको तह पार गर्नुअघि नै दुवै पक्षको सहमतिमा सबै ढोका खोलिएको उनले बताए ।

Categorized in अपराध-दुर्घटना