STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

धान धितो कार्यक्रमले किसानलाई राहत

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ३, मंगलबार

बुटवल उपमहानगरपालिका– १८ पोखराबारीका कृषक विष्णु गाहाले ३५ क्विन्टल धान धितो राखेर रु ५५ हजार ऋण सापटी लिनुभयो । उहाँले आफूले धानको मूल्य आउनासाथ बिक्री गरेर ऋण तिर्ने सोच बनाउनुभएको छ । त्यस्तै सोही वडा दुबौलीका शोभाकान्त अर्यालले २५ क्विन्टल धान धितो राखेर रु ४० हजार ऋण लिनुभएको छ । अर्का पोखराबारीकै ओमनारायण थारूले ३० क्विन्टल धान धितो राखेर रु ५० हजार ऋण लिनुभएको छ । उक्त ऋणवापत सबैले आफूले उत्पादन गरेको धान धितो राख्नुभएको ऋण लगानीकर्ता सिम्रिक सहकारी संस्थाका व्यवस्थापक खिमानन्द पाण्डेले बताउनुभयो । पहिले धान उठाउँदाउठाउँदै खलोबाट सस्तोमा बिक्री गर्नुपर्ने बाध्यतामा रहेका कृषकले उपमहानगरपालिकाले शुरु गरेको धान धितो राखी कृषकलाई ऋण लगानी गर्ने कार्यक्रमबाट फाइदा लिएका छन् । किसानले यो कार्यक्रमबाट लाभ मिलेको बताउँदै उपमहानगरपालिकालाई निरन्तरता दिन आग्रह पनि गरेका छन् । बाली लगाउँदा लागेको ऋण तिर्न एवं घरायसी खर्चका लागि अति न्यून मूल्यमा खलोबाटै धान बिक्री गर्न बाध्य किसान अहिले धान धितो कार्यक्रमले धेरै राहत भएका बताएका छन् । आफूले उत्पादन गरेको धान सहकारी संस्थामा धितो राखी सहकारी संस्थाको नियमानुसार ऋण लिने र पछि धानको बजार मूल्य राम्रो भएको बेलामा सहकारी संस्थाले कृषकका सबै धान बिक्री गरी वा कुटानी गरी आफूले पाउनुपर्ने साँवाब्याज सेवाशुल्क आदि असुल गरेर बाँकी रकम किसानलाई उपलब्ध गराउने गरी यो नयाँ कार्यक्रम सुरु गरिएको उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो । ‘सहकारी संस्थामा धानबाली धितो राखी ऋण दिनेबारेको कार्यविधि २०७५’ बमोजिम उपमहानगरपालिका र वडा नं १७ मा रहेको सिम्रिक सहकारी संस्थासँग गत वर्ष सम्झौता भएको थियो । यस कार्यक्रमबाट पहिलो चरणमा १३५ किसानले प्रत्यक्ष फाइदा लिएका छन् । किसान आपसमा सहमतिमा आएका एक गाउँ एक बस्ती बनाएर बाँकी जग्गामा व्यावसायिक खेती गर्ने सोच उपमहानगरपालिकाको रहेको उपप्रमुख गुमादेवी आचार्यले बताउनुभयो । उपमहानगरका दुवौली, पोखराबारी, मोतीपुर, सौराहा, सौरहिया, विनायकपुर, कृष्णगञ्ज, पत्थरगञ्ज, रानीगञ्ज, नहरपुर, मनोहरापुर, बेलभरिया र मोतीगञ्जलागायत टोलका किसानले न्यूनतम चार क्विन्टलदेखि ३०० क्विन्टलसम्म धान धितो राखेर ऋण लिइरहेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले जानकारी दिनुभयो । पहिलो चरणको कार्यक्रममा पाँच हजार क्विन्टल धान धितोका रुपमा आएको सहकारीका अध्यक्ष गणेशबहादुर गाहाले जानकारी दिनुभयो । किसानले धान रोपेको र काटेको खेतालाको ज्यालाको पनि ऋण लिने गरेका छन् ।
Categorized in राष्ट्रिय