STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

देशैभरि अविरल वर्षा : महाकालीमा बाढी, डोटीमा पहिरो, पहाडका टेलिफोन अवरुद्ध

Janjati Khabar – Janjati Khabar | २०७८ कार्तिक २, मंगलबार

महाकाली नदीको बाढीमा फसेका पाँच जनाको उद्धारमा ढिलाइ भएको छ । उनीहरूको हेलिकोप्टरमार्फत उद्धार गरिने भनिएको छ ।

भीमदत्त नगरपालिका–९ खल्लामुसेट्टीमा कुखुराको फार्म सञ्चालन गर्दै आएका पाँच जना महाकाली नदी र स्थानीय खहरे खोलाको बीच टापुमा फसेका छन् ।

महाकाली नदी र खहरे खोलामा बाढी आउदा मसेट्टीका ४५ वर्षीया दीर्घमती खड्का, ३५ वर्षीय पुष्कर नायक, ३२ वर्षीया शान्ति नायक, ९ वर्षीय अशोक नायक र पाँच वर्षीय अजय नायक टापुमा फसेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले उनीहरूको उद्धारका लागि प्रयास भइरहेको बताए ।  पानीको सतह बढी हुँदा उद्धारमा समस्या भइरहेको उनको भनाइ छ ।

प्रभावित क्षेत्रमै पुगेकी प्रदेश सरकारी प्रवक्तासमेत रहेकी आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले उनीहरूको उद्धारका लागि हेलिकोप्टर मगाइएको बताइन् ।

गृह मन्त्रालयले उनीहरूको उद्धारका लागि पठाउन लागेको हेलिकप्टर खराब मौसमका कारण आउन सकिरहेको छैन ।

सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाइएकाले बाढीमा फसेकाहरूको सुरक्षित उद्धार गरिने मन्त्री जोशीले बताइन् । प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) पुरुषोत्तम कडेल पनि कञ्चनपुरको बाढी प्रभावित क्षेत्रमा पुगेका छन् ।

स्थानीयका अनुसार उनीहरू बाढीबाट जोगिन रूखमा बसेका छन् । बाढीमा फसेका परिवारको उद्धारका लागि बीओपी खल्ला र ब्रह्मदेवबाट सशस्त्र प्रहरीको टोली त्यसतर्फ गएको छ । बाढीका कारण बाटोको ठाउँठाउँमा अवरोध हुँदा उद्धार टोली पुग्न ढिलाइ भएको छ ।

डोटीको पहिरो दुई जनाको मृत्यु

पहिरोमा परी डोटीमा दुई जनाको मृत्यु भएको छ डोटीको सायल गाउँपालिका- ६ अलैत बस्ने डिलबहादुर कुन्जेडाका ११ वर्षीय छोरा सागर र १५ वर्षीय आसिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गए राति करिब १ बजेतिर डिलबहादुरको गोठमा पहिरो खस्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । गोठमा रहेका एक हल गोरु समेत मरेको प्रहरीले जनाएको छ ।

 

सुदूरपश्चिमका पहाडी जिल्लामा विद्युत् र टेलिफोन सेवा अवरुद्ध

लगातारको वर्षाका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा विद्युत् र टेलिफोन सेवा अवरुद्ध भएको छ । बझाङ, बैतडी, दार्चुला, डडेल्धुरा, डोटी, बाजुरा र अछाममा विद्युत् तथा टेलीफोन सेवा अवरुद्ध भएको हो ।

कैलालीको चुरेगाँउपालिकाको खानीडाँडा नजिक १३२ केभी प्रसारण लाइनको टावरमा समस्या आएपछि सुदुरपश्चिमका सात पहाडी जिल्ला जोड्ने राष्ट्रिय प्रसारण लाइनमा समस्या आएको नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाका प्रमुख जंगबहादुर चन्दले बताए ।

'१३२ केभीमा प्रसारण लाइनको मर्मत गर्ने जिम्मा अत्तरिया ग्रिडको हो । लगातारको बर्षाले सडक अवरुद्ध हुँदा झन् समस्या भएको छ,' उनले भने, 'वर्षा नरोकिएकाले काम गर्न सहज छैन ।'

त्यस्तै ३३ केभी प्रसारण लाइनमा पनि समस्या देखिएको उनले बताए । वर्षासँगै आएको हावाहुरीले पहाडी जिल्लाका विभिन्न स्थानमा विद्युत् पोल तथा ट्रान्सफर्मरमा क्षति पुगेको चन्दको भनाइ छ ।

Categorized in अपराध-दुर्घटना