STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

देउवाले लिए शपथ, सिंहदरबार पुगी सम्हाले पदभार

Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ २९, मंगलबार

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा एक समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डालीले प्रधानमन्त्री देउवालाई पद तथा गोपनीयताको शपथ खुवाएकी हुन् ।

राष्ट्रपतिले देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गर्दा संविधानको धारा उल्लेख नगरेपछि शपथग्रहण कार्यक्रम केहीबेर रोकिएको थियो । राष्ट्रपति कार्यालयले नियुक्तिपत्र सच्याएपछि देउवाले शपथ लिएका हुन् । राष्ट्रपति कार्यालयले देउवा संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त भएको भनी सच्याएको हो ।

सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापित गर्दै देउवालाई प्रधानमन्त्रीमा नियक्त गर्न परमादेश दिएको थियो । सोही आदेशअनुसार राष्ट्रपतिले देउवालाई मंगलबार अपराह्न प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । नेपालको प्रधानमन्त्रीका रूपमा देउवा पाँचौँ पटक नियुक्त भएका हुन् ।

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा सिंहदरबारमा पुगेर पदभार सम्हालेका छन् । शपथलगत्तै उनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर पदबहाली गरेका हुन् ।

देउवालाई मुख्यसचिव शंकरदास वैरागी, प्रधानमन्त्री कार्यालयका सचिवसहित कार्यालयका अधिकारीले स्वागत गरेका थिए । उनको स्वागतका लागि कांग्रेसका नेता कार्यकर्ता पनि प्रधानमन्त्रीको कार्यालयमा पुगेका थिए । ८ बजे शपथग्रहण गरेका उनी ९ बजे त्यहाँ पुगेर करिब आधा घण्टा बसेर बाहिरिएका थिए ।

देउवा सर्वोच्चको फैसलापछि संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री बनेका हुन्  । देउवाको प्रधानमन्त्री बनेको यो पाँचौ पटक हो ।

Categorized in राजनीति