STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

दुर्लभ जनावर सालक संरक्षण अभियान शुरु

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ ११, बुधबार

विश्वमा दुर्लभ मानिएको स्तनधारी जङ्गली जनावर सालकको बासस्थान व्यवस्थापन तथा संरक्षण गर्न जिल्लामा चेतनामूलक अभियान थालिएको छ । सालकको उपयुक्त बासस्थान भएका क्षेत्रका बासिन्दा सालक ‘गुणी’ जनावर भएकाले यसको संरक्षणमा उत्साहित भएका हुन् । सालकको उपयुक्त बासस्थान मानिएको महाभारत शृङ्खलासँग जोडिएको क्षेत्र बल्थलीमा यस वर्ष पहिलो चरणमा चेतनामूलक कार्यक्रम गरिएको छ । तत्कालै पाँचखाल क्षेत्रमा कार्यक्रम गरिने डिभिजन वन कार्यालय धुलिखेलका अधिकृत बद्रीबहादुर कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “सालकको बासस्थान व्यवस्थापन तथा संरक्षण गर्न सरकारबाट बजेट नै विनियोजन हुनथालेको छ, स्थानीय तहको समन्वयमा कार्यक्रम विस्तार गर्दै जानेछौँ”, यसका लागि प्रदेश नं ३ सरकारले काभ्रेपलाञ्चोकमा यस आर्थिक वर्षको अन्त्यतिर रु दुई लाख बजेट पठाएको छ । काभ्रेपलाञ्चोकको महाभारत पर्वत शृङ्खलासँग जोडिएको क्षेत्र तथा पाँचखाल क्षेत्रका अधिकांश सामुदायिक वनमा सालकको सुरक्षित बासस्थान भएकाले सालकको मासु तथा छाला खपटा तस्करी रोक्न स्थानीयस्तरमा चेतनामूलक कार्यक्रम आवश्यकता रहेको कार्कीले बताउनुभयो । “यो मानिसका लागि उपयुक्त जनावर हो, यसले बालीका कमिला र धमिरा खान्छ, पर्यावणलाई जोागाउन मद्दत पु¥याउँछ, मानिसलाई भने आक्रमण गर्दैन”, उहाँले भन्नुभयो । उहाँका अनुसार सालकमा १५ सेन्टिमिटर टाढाका कीरा श्वासले तानेर खानसक्ने क्षमता हुन्छ भने केही खतरा महसुस हुनासाथ डल्लो परेर बस्ने गर्दछ । एउटा वयष्क सालकले एक वर्षमा सात करोड कमिला तथा धमिरा खाने गर्दछ । प्वाल बनाएर जमीनमुनि बस्ने लजालु स्वभावको जनावर सालक विशेषगरी रातको समयमा मात्रै बाहिर निस्कने डिभिजन कार्यालयका सहायक वन अधिकृत हेम थापाले जानकारी दिनुभयो । जिल्लाका अधिकांश सामुदायिक वनमा पाइने दुर्लभ सालक काभ्रेपलाञ्चोकमा कति छ भन्ने स्पष्ट कुनै तथ्याङ्क नभए पनि कालो सालक खोपासी, उग्रतारा जनागाल, महादेवस्थान, नारायणस्थान, डराउनेपोखरी, पाँचखाल, ज्याम्दी, ढुङ्खर्क तथा पाँचखाल क्षेत्रका सामुदायिक वनमा सुरक्षित बासस्थान रहेको उसको बासस्थानबाट देखिएको हो । बल्थलीस्थित समुदायमा आधारित चोरी–शिकारी नियन्त्रण एकाइका अध्यक्ष विष्णुप्रसाद हुमागाईंले स्थानीय आठ सामुदायिक वनमा अध्ययन गर्दा जमीनमा ५४२ प्वाल भेटिएकामध्ये पुरानो ३२३ र नयाँ २१९ प्वाल रहेका छन् । “नयाँ प्वालको सङ्ख्या कमी देखिँदा सालक लोप हुने अवस्थामा जाँदैछ भन्ने बुझिन्छ, हामी सालक तस्करीविरुद्ध विशेष निगरानी गर्दै आएका छौँ ।” उहाँले एकाइले यस वर्ष २५० स्कूले विद्यार्थीलाई यससम्बन्धी जनचेतना कार्यक्रम गरेको बताउनुभयो । एकाइको पहलमा काठमाडाँै विश्वविद्यालयका विद्यार्थीले सो क्षेत्रमा सालकको अनुसन्धान गरिरहेका छन् । विश्वभर एशिया र अफ्रिकामा आठ प्रजातिका सालक पाइन्छन्, त्यसमध्ये चार प्रजातिका सालक एशियामा मात्रै पाइन्छ । एशियामा पाइने चार प्रजातिका सालकमध्ये नेपालमा तामे र कालो सालक पाइने कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार यसको प्राकृतिक प्रजनन पनि अत्यन्त कम भएकाले विश्वमै दुर्लभ मानिएको सालकको संरक्षणले जैविक विविधतामा ठूलो सहयोग गरिरहेको छ । तीन वर्षअघि वन विभागको स्वीकृतिमा नेपाल ग्रामीण विकास तथा वातावरण संरक्षण परिषद् भक्तपुरले काभ्रेपलाञ्चोकका सामुदायिक वनमा सालकको अनुसन्धान गरेको थियो । संरक्षित जनावरमध्येको नेपालमा पाइने कालो सालकको वनमा रहेको प्राकृतिक बासस्थान सुरक्षित नभए केही वर्षमा लोप हुनसक्ने अवस्था देखिएको अनुसन्धानकर्ता प्रतिभा कसपालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दूर्लभ कालो सालक अति सङ्कटापन्न अवस्थाको सूचीमा छ ।” सालकको मासु र छाला ९खपटा० चिनियाँ बजारमा माग हुने गरेका कारण नेपालबाट यसको तस्करी हुने गरेको घटनाक्रमले देखाएको छ । वन संरक्षण ऐनअनुसार सालक तस्करीमा पाँचदेखि १५ वर्षसम्म कैद, रु पाँचदेखि १० लाखसम्म जरिवाना तथा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।
Categorized in राष्ट्रिय