STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

दुइटा चिनियाँ विमानमा राहत आइपुग्यो

Janjati Khabar – Janjati Khabar | २०८० कार्तिक २२, बुधबार

काठमाडौँ - जाजरकाेट भूकम्प प्रभावितका लागि चीन सरकारले पठाएकाे राहत सामग्री नेपाललालाई हस्तान्तरण गरिएको छ । उक्त राहत सामग्री चिनिया सेनाका २ वटा विमानमार्फत बुधबार नेपाल ल्याइएकाे हाे । ती राहत सामग्री नेपालका लागि चिनियाँ राजदूत छन् सोङले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गरे ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका जहाजमा रु २८ करोड रुपैयाँ बराबरका चार हजार ६ सय थान ब्ल्याङ्केट र ६०० थान त्रिपाल रहेको जानकारी गराइयो ।

उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले राहत सामग्री बुझेपछि पत्रकार सम्मेलनमा जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई राहत वितरण एकद्वार नीतिबाटै गरिने बताए । उनले विभिन्न दाताले उपलब्ध गराएको सहयोगलाई सङ्कलन गरी तीनवटै सरकारको समन्वयमा एकद्वार प्रणालीबाट भूकम्पपीडितलाई प्रदान गरिने बताए ।

उनले भने,“ भूकम्प पीडित कोही पनि खुला आकाशमुनि बस्नु नपरोस्, जाडोमा भूइँमा सुत्नु नपरोस् तथा खाद्यान्नविहीन हुनु नपरोस् भन्ने तवरबाट सरकारले काम गरिराखेको छ । यसका लागि आवश्यक व्यवस्थासहित सम्बद्ध पक्षलाई निर्देशन पनि दिइसकेको छ ।” भूकम्पलगत्तै प्रभावित दुबै जिल्लामा सरकारले पाँच/पाँच करोड रुपैयाँ उपलब्ध गराइसकेको पनि उनले जानकारी दिए ।

भूकम्पपछि मित्रराष्ट्रबाट सहयोग आउने क्रम जारी रहेको जनाउँदै उनले सहयोगका दाताप्रति धन्यवाद व्यक्त गरे । ‘हाम्रो देश प्राकृतिक विपत्तिले जोखिमी देश भएको उल्लेख गर्दै उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले जोखिमी न्युनीकरणसँगै जनधनको कम नोक्सानी हुने गरी चनाखो बन्नु अपरिहार्य छ’ उनले भने ।

Categorized in राष्ट्रिय