STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

दिल्लीको वायु प्रदूषण नेपाल भित्रियो

Janjati Khabar – Janjati Khabar | २०८० कार्तिक २२, बुधबार

काठमाडौँ - छिमेकी मुलुक भारतको राजधानी नयाँदिल्लीमा अहिले वायु प्रदूषणले जनजीवन निकै प्रभावित बनेको छ । प्रदूषणले वायुको गुणस्तर सूचांक उच्च भएपछि निजी सवारी साधनको प्रयोगमा रोक लगाइएको छ भने विद्यालयहरू पनि बन्द गरिएका छन् । दिल्लीको प्रदुषण फैलाउने हावा पश्चिम नेपालको धनगढीलगायत तराईका जिल्लामा प्रवेश गरिसकेकाले वायुको वेग परिर्वतन नभए त्यसको असर अबको केही दिनमा काठमाडौंसम्म नै पर्ने देखिन्छ ।

भारतको राजधानी दिल्लीको वायु प्रदूषणका कारण हावा विषाक्त बनेको छ । भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डले दिल्लीको वायुको गुणस्तर गम्भीर श्रेणीमा रहेको जनाएको छ । वायु गुणस्तर कमजोर स्तरमा पुगेको र आगामी दिनमा यो अझै खराब हुन सक्ने हुँदा त्यसको प्रत्यक्ष असर काठमाडौंमा पनि पर्ने देखिन्छ । दिल्लीको प्रदुषण फैलाउने हावा पश्चिम नेपालको धनगढीलगायत तराईका केही जिल्लाहरूमा प्रवेश गरिसकेकाले अबको एक सातामा काठमाडौं पनि प्रभावित हुने सम्भावना बढेको छ । नेपालमा बाह्य प्रदूषण रोक्ने कुनै उपाय नहुँदा भारतको प्रतिकूलतामा नेपाल पर्ने गरेको छ । भारतको उत्तरप्रदेश र विहार राज्यमा हजारौंका संख्यामा रहेका इँट्टाभट्टीहरू एवम् पञ्जाव र राजस्थान राज्यहरूमा अन्नबाली स्याहारेपछि जलाइने डाँठ–खोस्टाहरूको धुवाँले बढी असर गर्ने गरेको छ । खासगरी हिउँद र सुख्खायाममा जटिल समस्या बन्ने गरेको पाइन्छ । दीपावलीमा पड्काइने पटकाले थप वातावरण प्रदूषित गर्ने गरेको छ । तर, नेपालसँग भने आन्तरिक श्रोत कम गर्ने बाहेकको विकल्प देखिछैन ।

नेपालमै सवारीसाधन, सिमेन्टलगायत कलकारखाना, इँटाभट्टा र जथाभावी फोहोर जलाउँदा विसर्जन हुने धुवाँ यहाँको प्रदूषणका स्रोत हुन् । अव्यवस्थित बसोवास र सडक तथा पूर्वाधार निर्माणका क्रममा हुने ढिलासुस्ती तथा लापरबाहीका कारण पनि वायु प्रदूषण बढेको छ । हिउँदमा वर्षा कम हुने भएकाले पनि प्रदूषणको अवस्था जटिल बन्छ । वायु प्रदूषणका कारक तत्वलाई नियन्त्रण गर्न सरकारका साथै सरोकारवालाले ध्यान दिनुपर्ने वातावरणविद्हरू बताउँछन् । विद्युतीय सवारीसाधनको प्रयोग, भान्छामा आधुनिक इन्धनको प्रयोग, पुराना गाडीमा प्रतिबन्ध, इट्टाभट्टामा वैकल्पिक इन्धनको प्रयोग, जथाभावी कृषिजन्य पराल नजलाउने, फोहोर जलाउन प्रतिबन्ध लगाउने गरेमा प्रदूषण कम गर्न सकिन्छ ।

विश्वमा वर्षेनी झण्डै ७० लाख मानिसको मृत्यु वायु प्रदूषणकै कारण हुने गरेको छ । नेपालमा मात्रै वायु प्रदूषणले हुने रोगको कारण प्रतिवर्ष ४२ हजार एक सयको मृत्यु हुने गरेको अध्ययनहरूले देखाएको छ । दूषित हावाले गम्भीर स्वास्थ्य समस्या निम्त्याउने गरेकाले पनि सरकार वातावरणका क्षेत्रमा गम्भीर बन्न आवश्यक छ ।

Categorized in स्वास्थ्य-मौसम