STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

थिमि नगरपालिका ‘एसियन टाउनस्केप अवार्ड’बाट पुरस्कृत

Janjati Khabar – Janjati Khabar | २०७७ पौष ९, बिहिबार

काठमाडौं – भक्तपुरको मध्यपुर थिमि नगरपालिका ‘एसियन टाउनस्केप अवार्ड’बाट पुरस्कृत भएको छ ।

ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक सम्पदा संरक्षण तथा पुर्ननिर्माणमा महत्वपूर्ण काम गरेको भन्दै मध्यपुर थिमि नगरपालिका ‘२०२० एसियन टाउनस्केप अवार्ड’बाट पुरस्कृत भएको हो ।

यूएन हेबिट्याटको एसिया प्यासिफिक क्षेत्रीय कार्यालयले बुधबार एक समारोह आयोजना गरी नगरपालिकालाई पुरस्कार प्रदान गरेको हो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख (मेयर) मदनसुन्दर श्रेष्ठले पुरस्कार पाएसँगै ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदा संरक्षणको काममा अझ बढी जिम्मेवार बनाएको बताए ।

यस्तै मध्यपुर थिमि नगरपालिकालाई आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बनाउन चाहेको समेत मेयर श्रेष्ठले बताए ।

यूएन हेबिट्याटको एसिया प्यासिफिक क्षेत्रीय कार्यालयले सहरी क्षेत्रको विकास निर्माणको काम हेरेर प्रत्येक वर्ष उक्त अवार्ड प्रदान गर्ने गरेको छ ।

यसवर्ष दक्षिण कोरियाका ४, चीनका ३, जापानका २, मलेसियाका १, थाइल्याण्डको १ र नेपालको मध्यपुर थिमि नगरपालिका गरी कुल १२ वटा सहरलाई पुरस्कृत गरेको हो ।

मध्यपुर थिमि नगरपालिकाले बिगत ३ वर्षदेखि भत्केका मठ मन्दिर, पाटी, पौवा, ढुंगेधारा, पोखरी, पार्कको संरक्षण तथा पुर्ननिर्माणमा ध्यान दिदैँ आएको छ ।

Categorized in उपत्यका