थबाङमा गुन्जिए जनजागरणका स्वरहरु
Janjati Khabar – विजयरत्न असंबरे | २०८३ बैशाख २४, बिहिबार
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजना र रोल्पा कला साहित्य प्रतिष्ठानको सहआयोजनामा गत वैशाख १९ र २० गते रोल्पा जिल्लाको थबाङमा प्रगतिशील सङ्गीत उत्सव भव्यताका साथ सम्पन्न भएको छ । प्रगतिशील सुरहरु राष्ट्रका लागि भन्ने मूल उद्घोषका साथ भएको सो उत्सवमा नौबूँदे थबाङ घोषणापत्र समेत पारित भएको छ ।
कार्यक्रमको अघिल्लो दिनमा जलजला मेला भर्न गएका २० जना जिपमा सवार यात्रुहरुको दुखद दुर्घटनाका कारण पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा हुन लागेको सो उत्सवमा दाहाल सो दुर्घटनाका यात्रीहरुको उद्धार कार्यमा संलग्न भएकाले लुम्बिनी प्रदेशका सभामुख माननीय तुलाचन घर्तीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
रोल्पाली कला साहित्यको इतिहासबारे नवीन रोका मगरले अवधारणा पत्र र नेपाल समाजमा प्रगतिशील सङ्गीतबारे भीम कुमाखीले बृहत् कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
कुमाखकिो कार्यपत्रमा माधव प्रधान र चिरण पुनले टिप्पणी गरेका थिए । कार्यक्रमको दोस्रो दिन राष्ट्रिय क्षेत्रमा ख्याति पाएका मेचीदेखि महाकालीसम्मका प्रगतिशील कलाकारहरु र स्थानीय कलाकारहरुले लोकप्रिय गीत, अपेरा तथा स्थानीय लोकनृत्य प्रस्तुत गरेका थिए । दोस्रो दिनको कार्यक्रममा वरिष्ठ प्रगतिशील कलाकारहरु जीवन शर्मा, उदय श्रेष्ठ, माधव प्रधान, मधु गुरुङ, वीरप्रसाद भन्सारी, शारदा लिम्बु, नारायण शर्मा, केशरी घर्ती एलिना आदिको प्रस्तुति रहेको थियो भने स्थानीय भुमे नाचमा प्रमुख अतिथि लगायत सबै अतिथिहरुको सहभागिताले रोचकता थपेको थियो । स्थानीय जनजातिहरुको कलात्मक झाँकीहरुको प्रस्तुतिले कार्यक्रम स्थल विशेष रौनकपूर्ण बनेको थियो । स्थानीय चाहना कला केन्द्रको लोकनृत्य निकै आकर्षक रहेको थियो ।
राष्ट्रको आधिकारिक निकाय नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजनामा भएको सो कार्यक्रममा प्रतिष्ठानका निवर्तमान सदस्यसचिव कुश्मा महरा प्रगतिको विशेष सक्रियता रहेको थियो भने रोल्पा जिल्लाका दशैओटा पालिकाहरुको प्रायोजन रहेको थियो । माओवादी सशस्त्र सङ्घर्षको उद्गम बिन्दु रहेको थबाङमा यस प्रकारको कार्यक्रम हुनुलाई प्रमुख अतिथि लगायत अन्य विशेष अतिथिले विशेष प्राप्तिका रुपमा रहेको बताएका थिए । मुलुकमा गणतन्त्रप्राप्तिका लागि प्रगतिशील गीत सङ्गीतको ठूलो भूमिका रहेकोमा सरकारी क्षेत्रबाट यसको संरक्षण र संवर्धनका लागि पहिलो प्रयासका रुपमा प्रगतिशील सङ्गीत उत्सवलाई लिइएको छ । कार्यक्रमको मुखैमा सोही क्षेत्रमा भीषण दुर्घटना हुनु, खुल्ला रुपमा साङ्गीतिक उत्सव कार्यक्रम भैरहँदा भीषण वर्षा हुनु र कार्यक्रम सुरु हुँदै आयोजक संस्था नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पदाधिकारीहरु अध्यादेशका कारण पदमुक्त हुनुले आयोजकमा चिन्ता रहे पनि कार्यक्रम अत्यन्त उल्लासमय रुपमा सम्पन्न भएको थियो । आयोजक संस्था नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानकी सदस्य सचिव कुश्मा महरा प्रगतिलाई सबैले रोल्पाकी महान् छोरीको उपमा दिएका थिए । झण्डै छ महिनाको निरन्तर प्रयासपछि मात्र सो कार्यक्रम हुन सकेको कुरा प्रगतिले बताएकी थिइन् । राजधानीबाट संविधान सभा सदस्य केशरी घर्ती मगर एलिनाको नेतृत्मा गएको झण्डै पचास जना कलाकारहरुको समूह तथा देशका विभिन्न भागबाट ठूलो सङ्ख्यामा आएका कलाकारहरुलाई अत्यन्त सौहाद्रर्पूण रुपमा व्यवस्थापन गरिएको सो कार्यक्रममा नेपालका सातै प्रदेशका विभिन्न जनजातिको लोकनृत्यको एकमुष्ठ प्रदर्शन प्रतिष्ठानको पहलमा गरिएको थियो जसको कोरियोग्राफी प्राज्ञ शान्ति कठायतले गरेकी थिइन् । पहिलो दिनको कार्यक्रम नवीन रोका मगर र दोस्रो दिनको कार्यक्रम प्राज्ञ बखतबहादुर हमालले सञ्चालन गरेका थिए भने दुवै दिनको कार्यक्रमको अध्यक्षता प्रतिष्ठानकी सदस्य सचिव कुश्मा महराले गर्नु भएकाे थियो ।
Categorized in साहित्य-कला

