STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

त्रिवि शिक्षण अस्पताललाई सिटी स्क्यान मेसिन खरिद गर्न महानगरपालिकाले सहयोग गर्ने

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ मङ्सिर ३०, मंगलबार

काठमाडौँ महानगरपालिकाले त्रिवि शिक्षण अस्पताललाई अत्याधुनिक सीटी क्यान मेसिन खरीदका लागि आर्थिक अनुदान दिने भएको छ । आज उपप्रधानमन्त्री ईश्वर पोखरेलको उपस्थितिमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा डा दिनेश काफ्लेबीच  यस सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।  

यो सम्झौता सम्पन्न भए पछी   स्पेसिफिकेशन बमोजिम ७ करोड ५० लाख रुपैयाँ बराबरको १ सय २८ स्लाइसको अत्याधुनिक सिटी स्क्यान मेसिन खरिद गरिने अस्पतालले जानकारी दिएको छ ।  अस्पतालका अनुसार अब खरिद गरिने मेसिनबाट उच्च गुणस्तीयर र परिस्कृत रिपोर्ट प्राप्त भई सर्वसुलभ सेवा दिन सकिने कुरा थाहा हुन आएको छ । 

हस्ताक्षरपछि सम्बोधन गर्दै उपप्रधानमन्त्री पोख्रेलले संमृद्ध नेपाल सुखी नेपालीको नारालाई पूरा गर्न स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन महत्वपूर्ण रहेको भन्दै साझेदारीको हिसावले महानगरपालिकाले गरेको उल्लेख्य काम भएको बताउनुभयो ।  

उहाँले स्वास्थ्य क्षेत्रमा आउने गरेका विसंगतीका जनगुनासोलाई सुधार गरेर कार्यान्वयन तहमा लैजानका लागि त्यस क्षेत्रको नेतृत्वले सेतुको काम गर्नुपर्नेमा जोड दिनुभयो ।  

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर शाक्यले काठमाडौँ महानगरपालिकाले नामका लागि काम होइन कामका लागि काम गरेको बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्र नेपाल सरकार र प्रदेश सरकारको क्षेत्रभित्र पर्ने भए पनि काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग सहकार्य गरेर अघि बढेको बताउनुभयो । त्रिवि शिक्षण अस्पतालसँगको सहकार्य पनि त्यसै मध्यको एक भएको उहाँले बताउनुभयो ।  वीर अस्पताल, टिचिङ्ग अस्पताल, टेकु अस्पताल, सिभिल अस्पताल सबै हाम्रो क्षेत्रभित्र पर्छन् तर हाम्रो क्षेत्राधिकार भित्र नपरेको बताउनु भयो । 

शाक्यले अहिलेसम्म महानगरपालिकाले मात्रै करीब ३५ हजारको स्वाब संकलन गरेको पनि जानकारी दिनुभयो ।  

शाक्यले सबै राष्ट्रियस्तरका अस्पताल भएकाले यहाँका वडाध्यक्ष र महानगरपालिकाले हाम्रो अस्पताल भन्न नपाउने अवस्था रहेको पनि स्मरण गराउनुभयो । 

कार्यक्रममा मेयर   शाक्यले महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापित विदेशका विभिन्न नगरहरुले कोभिड नियन्त्रण र रोकथामका लागि उपलब्ध गराएका स्वास्थ्य सामाग्री यस अघि पनि वीर अस्पताल, कान्ति बाल अस्पताल  र थापाथली स्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पताललाई हस्तान्तरण गरिसकेका जानकारी गराउनुभयो ।  

उहाँले  काठमाडौंको भित्रिशहरमा अवस्थित क्षत्रपाटी निःशुल्क चिकित्सालयको नवनिर्मित भवनमा लिफ्ट जडानका लागि काठमाडौं महानगरपालिकाले ३० लाख रुपैयाँ अनुदान दिएको र  नयाँ भवन निर्माणका लागि पाँच करोड दिने प्रतिवद्धता व्यक्त गरेको पनि जानकारी दिनुभयो । 

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का डिन प्राडा. दिव्या सिंह शाहले आधुनिक चिकित्सा विज्ञानमा सिटी स्क्यान नभइ नहुने हतियार भएको भन्दै काठमाडौँ महानगरले गरेको सहयोग अतुलनीय भएको बताउनुभयो । 

कार्यक्रममा कार्यकारी निर्देशक काफ्लेले आकस्मिक सेवा कक्षको सिटी स्क्यान मेसिन १ वर्ष अघिदेखि कम नलाग्ने गरी बिग्रिएको कारण सेवामा असहजता भैरहेको स्मरण गराउनुभयो ।

Categorized in उपत्यका