त्रिमूर्ति निकेतनमामा देवकोटा जयन्ती
Janjati Khabar – विजयरत्न असंबरे | २०८२ कार्तिक ४, मंगलबार
नेपालको साहित्य वाङ्गमय क्षेत्रमा सकृय प्राज्ञिक संगठन त्रिमूर्ति निकेतनले सोमबार लक्ष्मी पुजाको दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औं जयन्ती मनाएको छ । सो अवसरमा त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईले महाकवि देवकोटाको पूर्णकदको सालीकमा माल्यार्पण गर्नुभयो । त्यस अवसरमा उहाँले कविशिरोमणि लेखनाथ पौडयाल र नाट्यसम्राट् बालकृष्ण समको पूर्णकदको सालीकमा पनि माल्यार्पण गर्नुभयो ।
सञ्चारग्रामस्थित त्रिमूर्ति निकेतनद्वारा आयोजित काव्यसभामा कविहरू ललिता दोषी, यादव भट्टराई, भगवती बस्नेत र रश्मि रिमालले कविता वाचन गर्नुभएको थियो ।
सो कार्यक्रममा त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाई, लेखनाथ पौड्याल काव्य सभाका संयोजक प्रा.केशव सुवेदी, बालकृष्ण सम फाउन्डेशनका संयोजक मदनदास श्रेष्ठ, कार्यक्रम संयोजक भगवती बस्नेत र सदस्यसचिव नरेन्द्रराज प्रसाईले त्रिमूर्ति अर्थात् कविशिरोमणि, नाटयसम्राट् र महाकविले देखाएको बाटोमा हिँड्नु नै त्रिमूर्ति प्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ भन्ने विचार पोख्नु भयो ।
कविशिरोमणि, नाट्यसम्राट् र महाकविको सम्मानार्थ नइ प्रकाशनको संयोजनमा २०६१ सालमा त्रिमूर्ति निकेतनको स्थापना भएको हो ।
Categorized in साहित्य-कला

